• Menu

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलताको विकास आवश्यक : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ फागुन २७, २०:२९

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलताको विकास आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य-क्रान्ति आत्मकथाको मंगलबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् ।

समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको पनि उनले स्पष्ट पारे । उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भरता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गरे ।

व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको भन्दै उनले प्रशंसा गरे । ‘हाम्रो समाज शृंगार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरुको लागि मात्र हो भन्ने दृष्टिकोण राख्ने समाज हो,’ अध्यक्ष ढकालले भने, ‘सौन्दर्यकलालाई पेसा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रुपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान छ ।’

अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रुपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने उनले बताए । आफ्‌नो व्यवसायको माध्यमबाट हजारौंलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैंमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको धारणा उनले राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला सशक्तीकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताइन् । महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्स्ना श्रेष्ठ र महासंघका पूर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरुका लागि प्रेरणाको स्रोत भएको बताए ।

पद्मकन्या विद्याश्रमका प्राचार्य रीता तिवारीले श्रेष्ठसँगको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भइरहेको जानकारी दिइन् । कार्यक्रममा लेखक कमला श्रेष्ठले उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेलाई पुस्तकले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिन् । यो आफ्नो आत्मकथा भन्दा पनि उद्यमशीलताको कथा भएको बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महिला उद्यम समितिका सभापति सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेख समावेश रहेको लेखन कुन्जका सञ्चालक कमल ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्