काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
घिमिरे हाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत थिए । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया) अनुसार एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी सीईओ बनाउन नपाइने व्यवस्था छ । हालका सीईओ सुनिल केसीले दुई कार्यकाल पूरा गरेपछि घिमिरेलाई नेतृत्व हस्तान्तरण गरिएको हो ।
सन् २००९ देखि एनएमबी बैंकमा आबद्ध घिमिरेले सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका उनले ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा गहिरो अनुभव हासिल गरेका छन् । वि. सं. २०७९ असोज ११ देखि उनले एनएमबी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
त्यस्तै बैंक सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ । उपाध्याय नौ वर्षदेखि एनएमबी बैंकमा कार्यरत छन् । उनले सन् १९९८ मा स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करियर सुरु गरेका हुन् ।