मन्तव्य
नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेशमात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नयाँ सुरुवात हो । मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको हाम्रो प्रतिबद्धता हो । विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को यो एक उदाहरण हो ।
बैंक, बिमा, रेमिट्यान्स, पर्यटन पूर्वाधार, सूचना प्रविधि तथा जलविद्युत जस्ता मुलुकको अर्थतन्त्रका प्राथमिकताका क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याइरहेको आइएमई ग्रुपले नेपालको व्यावसायिक तथा औद्योगिक विकासमा दिएको टेवाका बारेमा यहाँहरु जानकार नै हुनुहुन्छ ।
उद्योगहरु बन्द हुने, लगानीकर्ता पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवा जानुपर्ने बाध्यतालाई कम गर्दै नयाँ उद्योग खोलेर आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सिर्जना गर्ने यो महत्वपूर्ण पाइला सावित हुने हामीलाई विश्वास छ ।
आज हामी सबैका लागि गर्वको क्षण हो किनकि हामी नेपालमा उत्पादन, आयात प्रतिस्थापन र उपभोगको अपार अवसरलाई उपयोग गर्ने यो अत्याधुनिक पल्प तथा पेपर उद्योगको शुभारम्भ गर्दैछौँ ।
२०७८ साउनमा निर्माण सुरु भएको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन गर्न थालेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट आज समुद्घाटन भएपछि हामीले औपचारिक रुपमा यसको सुरुवात गर्नेछौँ । हाम्रो यो प्रयास स्वदेशी उद्योग प्रवर्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकारको सोचसँग हातेमालो पनि हो ।
विगत कयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएको छ । मुलुककै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन । यद्यपि, साना तथा हाते कागज उद्योगहरुले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा राम्रै योगदान गरिरहेका छन् ।
यसरी कागजमा आयातमुखी बन्दा हामीले दसौं अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा खर्चिनुपरेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावले बढ्दो मूल्यको समेत सामना गरिरहनुपरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र नेपालले कागज तथा कागजजन्य उत्पादनको आयातमा झन्डै १२ अर्ब रुपैयाँ खर्चेको थियो । नेपालमा भारत, चीन, जर्मनी, अमेरिका, थाइल्यान्ड, इन्डोनेसिया, बंगलादेशलगायतका मुलुकबाट कागज आयात हुँदै आएको छ ।
हाल नेपालमा कागजका रोल तथा सिटहरु, विभिन्न आकार तथा तौलका पेपरबोर्डदेखि ट्वाइलेट पेपरसम्म पनि आयात हुने गरेको छ । कागज उद्योगले खर, पराल, काठ आदि पगालेर कागज बनाएको त हामीले देखेसुनेकै हो । तर, यस उद्योगको सोच भने नितान्त फरक छ । हामीले घर अफिसमा प्रयोग गरेर फालेका वा नष्ट गर्ने गरेका कागज नै यो उद्योगको मुख्य कच्चा पदार्थ हो ।
घरअफिसमा प्रयोग भएका पुराना कागज साना व्यवसायीमार्फत संकलन गर्दै यस उद्योगसम्म पुग्नेछन् । त्यसलाई गलाएर त्यहाँबाट पिन, प्लास्टिक, मसीलगायतका अनावश्यक वस्तु छुट्याएर पुन: नयाँ कागज बनेर फेरि बजारमा आउनेछन् ।
यही सम्भावनालाई मध्यनजर गर्दै हामीले स्वदेशमै कागज उत्पादन गर्ने यो पहल थालेका हौँ । हाम्रो उद्योगले आयात प्रतिस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्दै नेपाली उपभोक्ता, व्यवसायी र उद्योगहरूलाई प्रतिस्पर्धी मूल्यमा स्वदेशमै उत्पादित कागज उपलब्ध गराउनेछ ।
दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यस उद्योगले औद्योगिकस्तरमा कागज उत्पादनको पहिलो चरणमा फोटोकपी पेपर उत्पादन गरिरहेको छ । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपरको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई पनि स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।
यहाँहरुलाई म निवेदन गर्न चाहन्छु, हाम्रो उद्योग केवल उत्पादन, बिक्री-वितरण र नाफामा मात्रै केन्द्रित छैन, हामी वातावरणप्रति पनि उत्तिकै सचेत छौँ । उद्योगबाट हुने वायु प्रदूषण र जल प्रदूषण न्यूनीकरणका लागि उद्योगले विभिन्न पहल लिएको छ ।
वायु प्रदूषण कम गर्नका लागि उद्योगले पीसीसी प्लान्ट प्रयोग गरिरहेको छ । जसबाट प्रदूषण त कम हुन्छ नै साथमा स्वदेशमै प्रेसिवेटेड क्याल्सियम कार्बोनेटसमेत उत्पादन हुन्छ । यसका लागि चिम्नीबाट निस्किने धुँवाबाट कार्बनलाई निकालेर चुनढुङ्गामा मिसाएर पीसीसी केमिलक बनाउने गरिएको छ । सो केमिकल पुन: उद्योगमै राम्रा खाले कागज बनाउन प्रयोग हुन्छ ।
यसले एकातिर क्याल्सियम कार्बोनेटको आयात घटाउनेछ भने अर्कोतिर धुँवा कम फाल्दा वातावरण प्रदूषण पनि कम हुनेछ । त्यस्तै उद्योगबाट निस्किने पानीलाई पनि ट्रिटमेन्टपछि रिसाइकलिङ गरेर पुन: प्रयोग गर्नेगरी काम भइरहेको छ । यसले एकातिर जमिनबाट हुने पानीको दोहन घटाउनेछ भने अर्कोतिर जल प्रदूषणलाई पनि कम गर्नेछ ।
यहाँनिर हामीले सम्झिनैपर्ने कुरा के पनि हो भने औद्योगिक विकास रोजगारीको प्रमुख कारक हो । यहाँहरुसमक्ष म गर्वका साथ जानकारी दिन चाहन्छु कि नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीले प्रत्यक्ष ३ सयभन्दा बढी र अप्रत्यक्ष हजारौंका लागि रोजगारीका अवसर सिर्जना गर्नेछ । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । हामीले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलालाई अवसर दिनेछौँ । उद्योगले विशेष गरेर महिला सशक्तीकरण र सबलीकरणका लागि पनि ठूलो योगदान पुर्याउने हाम्रो लक्ष्य छ ।
कागज उत्पादन मात्र हाम्रो उद्देश्य होइन, आत्मनिर्भरता, रोजगारी सिर्जना, र दिगो आर्थिक विकासलाई प्रवर्धन गर्ने अभियानको नेतृत्व गर्नु पनि हाम्रो अभिप्राय हो । हाम्रो व्यावसायिक अभियानका केही प्राथमिकताका विषय छन् । पहिलो, राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने । दोस्रो, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने । र, तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने ।
हाम्रा रेमिट्यान्स, बैंक, बिमा, सूचना प्रविधि, जलविद्युत र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् । हामीलाई लाग्छ, यस कारखानाले हाम्रा यी प्राथमिकता पूरा गर्न सक्छ ।
अब म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतमा केही थप कुरा राख्न चाहन्छु ।
कोभिड महामारी, रुस-युक्रेन युद्ध, श्रीलंकाको आर्थिक संकट र हाम्रा केही आफ्नै आन्तरिक कारण थपिँदा हामी पनि आर्थिक मन्दीको अवस्थाबाट गुज्रियौँ । संसारका देशहरुले पोस्ट कोभिड प्याकेजहरु घोषणा गरिरहँदा हामीले पनि संकटबाट उठ्ने यथाशक्य प्रयास अघि बढायौँ । त्यसका लागि राज्यका योजनाहरुमा हामी निजी क्षेत्र सक्रियताका साथ अघि बढेका हौँ ।
अहिले पनि हामी पुरानै लयमा फर्किन सकेका त छैनौँ तर अर्थतन्त्र सुधारका लागि थालिएका प्रयासले सकारात्मक संकेत देखिन सुरु गरेको छ । वर्तमान सरकार अर्थतन्त्रको सुधारमा कार्यरत छ भने हामी सरकारको होस्टेमा हैंसे गरेर अघि बढिरहेका छौँ ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउन हामीसँगका अथाह सम्भावना छन् । यी सम्भावनाहरु उजागर गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न उचित वातावरण आवश्यक पर्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानमा निजी क्षेत्र साथमा छ ।
सरकारले ल्याएका कतिपय कानुन लगानीमैत्री वातावरण निर्माणका लागि सहयोगी सिद्ध हुने हामीले महसुस गरेका छौँ । यो कुराको वकालत हामीले सार्वजनिक रुपमा नै गरिरहेका छौँ । मुलुकमा अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुन निर्माणमा सरकार हाम्रा सुझावहरुको निकटमै रहेर काम गरिरहेको महसुस हामीलाई भएको पनि छ ।
स्वदेशी होस् या विदेशी, लगानीकर्ताले फिल्डमा काम भए, नभएको हेर्ने गर्छ । त्यसैले यस्तै नयाँ-नयाँ ठूला आयोजनाहरु सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो आयोजनाले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिनेछ भन्ने हामीलाई लागेको छ ।
पाथिभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका हामीलाई लागेको छ । हामीलाई त्यहाँका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा हामीले पाथीभरामा केबलकारको निर्माण परियोजना सुरु गरेका हौँ ।
यो नयाँ नभएर स्थानीय मागमा आधारित परियोजना हो र करिब सात वर्षदेखि नै यो कुरा सबैलाई थाहा नै छ । स्थानीयको माग, उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको हो ।
तर, जब उक्त मेगा प्रोजेक्टको काम सुरु भयो, त्यसपछि जिल्लाभन्दा बाहिरबाट मानिस गएर अवरोधको प्रयास भयो । यस्तो वातावरणले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन् भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको छ । पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारमा पुग्दा त्यसले विश्वका लगानीकर्तामा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता हामी निजी क्षेत्रमा बढाएको छ ।
हामीले विश्वका विभिन्न धनी र सम्पन्न मुलुक देखेका छौँ । ती देश कसरी धनी र सम्पन्न भए ? ती देश धनी र सम्पन्न बन्न त्यहाँका व्यवसायी र उद्यमीको के कति योगदान छ ? त्यसका लागि व्यवसायी र उद्यमीले लिएको जोखिम र उनीहरुको मेहनत र परिश्रमको हेक्का भने राख्ने गरेको पाइँदैन । एउटा उद्यमी व्यवसायीले ठूलो जोखिम उठाएर उद्यम गर्छ ।
तर पनि ती उद्यमी व्यवसायीले लगानी गरेका छन् । धेरैलाई लाग्न सक्छ, कुनै पनि उद्यमी व्यवसायीले व्यक्तिगत नाफा वा फाइदाका लागि मात्र व्यवसाय गरेको हुन्छ । त्यसले व्यवसाय नगर्दा हामीलाई के फरक पर्छ ?
एक जनाले होटल नचलाउँदा के हुन्छ ? एक जनाले पसल नचलाउँदा के हुन्छ ? एक जनाले बस नचलाउँदा के हुन्छ ? एक जनाले उद्योग नचलाउँदा के हुन्छ ? एक जनाले एक ठाउँमा अस्पताल नबनाउँदा के हुन्छ ? एक जना उद्यमीले एक ठाउँमा विद्यालय नचलाउँदा के हुन्छ ? तर, वास्तविकता त्यस्तो होइन ।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा बढी र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान भएको निजी क्षेत्र र तिनै उद्यमी व्यवसायीले उत्पादन नगरिदिने हो भने वा व्यवसायीले सेवा नदिने हो भने तपाईं हाम्रो अवस्था के होला ? राज्यको सबैभन्दा ठूलो आम्दानी, यातायात, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीको अवस्था के होला ?
अर्को महत्वपूर्ण कुरा यिनै उद्यमी व्यवसायीको उत्पादनले तपाईं हामी धेरैको जीवन सहज बनेको हो । उनीहरुकै उद्योग व्यवसायले रोजगारी सिर्जना गरेको हो । तिनै उद्यमीले तिरेको कर तथा राजस्वबाट पूर्वाधारको विकास भएको हो । राज्य सञ्चालन भएको हो ।
एक जना व्यवसायीले जति आम्दानी गर्छ, त्यति पुन: लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र त्यसबाट राज्यलाई थप कर र राजस्व तिर्ने हो । सामान्य व्यक्ति र उद्यमी व्यवसायीमा फरक यति मात्र हो कि एक जना व्यवसायीले २ लाख रुपैयाँमात्र आम्दानी गर्यो भने उसले १० लाख रुपैयाँको जोखिम उठाउँछ र अर्को व्यवसाय सञ्चालन गर्छ ।
दुई लाख रुपैयाँ इक्विटी लगाएर बाँकी बैंक तथा वित्तीय संस्थाको ऋण जुटाएर १० लाख रुपैयाँसम्म लगानी गर्छ । निजी क्षेत्रले गर्ने भनेकै यही हो । यसका लागि व्यवसायीले २४ सै घण्टा गर्ने मेहनत, लगनशीलता र शारीरिक तथा मानसिक तनावको हामीले प्रशंसा गर्नुपर्छ ।
हामी एलन मस्क, जेफ बेजोस र लारी एलिसनका जीवनी पढ्छौँ । टाटा, अम्बानी र अडानीको बयान गर्छौं । तर, हाम्रा उद्यमी व्यवसायीप्रति सधैँ नकारात्मक धारणा देखिन्छ । यो सोच बदल्न जरुरी छ । यो भाष्य, चेत र धारणा रहेसम्म लगानी बढ्दैन, मुलुक बन्दैन र समृद्धि आउँदैन ।
त्यसैले मैले बारम्बार भन्ने गरेको छु । सबै राजनीतिक दलका आदरणीय नेताहरु, सबै संघ संस्थाका आरदणीय नेतृत्व वर्गलाई म विनम्र आग्रह गर्न चाहन्छु । पूर्वाधार विकास, रोजगारी सिर्जना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजस्वको मुख्य स्रोतको लागि सबै पक्ष एकै ठाउँमा उभिनुपर्छ । अन्यथा, तपाईं हाम्रा सन्ततिले तपाईं हाम्रै कारणले अभाव, गरिबी र पछौटेपनको सामान गरिरहनुपर्नेछ, जुन विषयमा पश्चाताप पनि गर्ने समय पनि रहने छैन ।
त्यसैले म फेरि पनि आग्रह गर्छु, पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा राजनीति नगरौँ । पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने हो । रोजगारी सिर्जना हुने हो । राजस्व वृद्धि हुने हो र मुलुक समृद्ध हो ।
तपाईं हाम्रा अगाडि बदलिँदै गरेको विश्व परिवेश छ । विदेशी अनुदान र सहायता घट्दैछ । त्यसैले स्वदेशी उद्यमी, रोजगारी र राजस्व सिर्जना गर्ने कर्मशीलहरुलाई प्रोत्साहन गर्नुको विकल्प छैन । प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धितर्फको यात्रामा सँगसँगै अगाडि बढौँ ।
(नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि उद्घाटनका अवसरमा आइएमई ग्रुपका अध्यक्ष ढकालद्वारा व्यक्त मन्तव्य)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal