• Menu

आइएमई ग्रुपको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालन, प्रधानमन्त्रीबाट उद्घाटन

नेपाल प्रफिट

२०८१ फागुन २२, १४:३३

आइएमई ग्रुपको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालन, प्रधानमन्त्रीबाट उद्घाटन

महोत्तरी । आइएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि प्रधानमन्त्रीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्यालसियम कार्बोनेट उत्पादनको समेत अवलोकन गरे । दुई अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेशमात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए ।

नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उनले उल्लेख गरे ।

उद्योगहरु बन्द हुने, लगानीकर्ता पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवा जानुपर्ने बाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योग खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सिर्जना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमूलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि उनले बताए ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीले प्रत्यक्ष ३ सयभन्दा बढी र अप्रत्यक्ष हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारीसमेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानसमेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलालाई अवसर दिन थालेको छ ।

अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवर्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुन निकै सहयोगी सिद्ध हुने विश्वास लिएको बताए ।

उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकारले निजी क्षेत्रका सुझाव सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे ।

आज उद्घाटन भएको उद्योगको सन्दर्भमा अध्यक्ष ढकालले विगत कयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा अब त्यो अवस्था नरहने बताए । मुलुकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन ।  साना तथा हाते कागज उद्योगहरुले हस्तकला तथा नेपाली कागजको आपूर्तिमा योगदान गरे पनि पर्याप्त छैन ।

सो अवसरमा अध्यक्ष ढकालले आइएमई समूहको व्यावसायिक अभियानका प्राथमिकताका बारेमा पनि उल्लेख गरे । पहिलो, राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने  र तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी  गर्ने ।

‘रेमिट्यान्स, बैंक, बिमा, सूचना प्रविधि, जलविद्युत र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् ।  यस कारखानाले प्राथमिकता पूरा गर्न सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्