काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार करेक्सन आएको छ । फागुन १ देखि लगातार २११.८१ अंक बढेर २६७८.४७ बाट आइतबारसम्ममा २८९०.२८ अंकमा उक्लिएको नेप्सेमा सोमबार १३.६२ अंकको करेक्सन आएको हो ।
फागुन १ देखि सुस्त-सुस्त बढेको बजारमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बेग्लै उत्साह आएको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले लोन लस प्रोभिजन दर १.१ बाट १ प्रतिशतमा झारेपछि नाफा बढ्ने अनुमानमा लगानीकर्ताले वाणिज्य बैंकको सेयरमा आकर्षित भएका छन् ।
नेपाल बैंकर्स संघका अनुसार लोन लस प्रोभिजन १.१ प्रतिशतबाट १ प्रतिशतमा झार्दा वाणिज्य बैंकहरुको नाफा करिब ४ अर्बले बढ्नेछ । नेप्से मौद्रिक नीतिको समीक्षा आएको भोलिपल्ट बिहीबार ४९ र आइतबार ७५ अंकले बढेको थियो ।
ब्याजदर सस्तिएका बेला मौद्रिक नीतिको समीक्षा लगानीकर्ताका लागि उत्प्रेरक बनेको सेयर विश्लेषकहरुले बताएका छन् । अहिले वाणिज्य बैंकहरुले अधिकतम ८ प्रतिशतभित्र कर्जा प्रवाह गरिरहेका छन् ।
लगातार बढेको बजारबाट अल्पकालीन लगानीकर्ताले सोमबार नाफा बुक गरेपछि नेप्से १३.६२ अंकले घटेर १८७६.६६ अंकमा झरेको छ । नेप्से आज २९२९.२१ अंकसम्म पुगेर ओर्लिएको हो ।
नेप्सेमा करेक्सन आउँदा पनि ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै जीवन बिमा, उत्पादनमूलक, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूह उकालो लागेका छन् ।
आज कारोबार रकम पनि उल्लेख्य छ । आइतबार १४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको बजारमा आज १४ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको हो । सोमबार सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।