म्याग्दी । म्याग्दीको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रको काम सुरु भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक, बेनी-जोमसोम-कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुंगेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए ।
‘उक्त सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको निर्माण कम्पनीले ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो,’ उनले भने, ‘माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुनेगरी कुल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाले जनाएको छ ।’
बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जनप्रतिनिधि र स्थानीवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिनापछि कालोपत्र गर्न थालेका बताए । ‘सम्झौतालगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो,’ उनले भने, ‘उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा भरपर्दा ढिलाइ भएको हो ।’
यसअघि २०७६ साल चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो । सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले मंगलबार रातिसम्म काम गरिएको, बुधबार शिवरात्रि पर्व भएकाले काम रोकिने र बिहीबार सम्पन्न गर्ने बताए ।