• Menu

माथिल्लो संखुवा खोलामा जुट्यो लगानी, कृषि विकास बैंकको अगुवाइमा ६ वित्तीय संस्थासँग कर्जा सम्झौता

नेपाल प्रफिट

२०८१ फागुन १४, बुधबार १३:३५

माथिल्लो संखुवा खोलामा जुट्यो लगानी, कृषि विकास बैंकको अगुवाइमा ६ वित्तीय संस्थासँग कर्जा सम्झौता

काठमाडौं । माथिल्लो संखुवा खोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । कृषि विकास बैंक लिमिटेडको अगुवाइमा ४० मेगावाटको आयोजनामा ६ वित्तीय संस्थाले ६ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।

ह्याप्पी इनर्जी प्रालिले निर्माण अगाडि बढाएको आयोजनामा कृषि विकाससहित सिद्धार्थ बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लगानी गर्ने भएका छन् । लगानीसम्बन्धी सम्झौतामा प्रवर्द्धक कम्पनी र अगुवाइकर्ता बैंकबीच सोमबार हस्ताक्षर भएको छ ।

आयोजनामा कृषि विकास बैंकले १ अर्ब ५० करोड, सिद्धार्थले १ अर्ब ४५ करोड, प्रभुले १ अर्ब र सिटिजन्स बैंकले ७५ करोड लगानी गर्नेछन् । त्यस्तै लुम्बिनी विकास बैंकले ७५ करोड र सांग्रिला डेभलपमेन्ट बैंकले ७३ करोड रुपैयाँ लगानी गर्ने टुंगो लागेको प्रवर्धक ह्याप्पी इनर्जीले जनएको छ ।

कुल ८ अर्ब २४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत (६ अर्ब १८ करोड ऋण र २५ प्रतिशत (२ अर्ब ६ करोड) रुपैयाँ स्वपुँजी लगानी रहनेछ । संखुवासभाको सिलिचोङ गाउँपालिका २ र ३ मा बन्ने आयोजनामा स्वदेशीसहित गैरआवासीय नेपालीले समेत लगानी गरेका छन् ।

विं सं. २०७४ सालमा पहिचान भएको आयोजना अध्ययन गर्न विद्युत् विकास विभागले २०७५ असार ३२ गते अध्ययन अनुमतिपत्र प्रदान गरेको थियो । आयोजनाले २०८० असोज ३० गते उत्पादन अनुमतिपत्र पाएको थियो । आयोजनाको निर्माण २०८५ जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

समुद्र सतहबाट १ हजार ३१८ मिटरदेखि १ हजार ८३४ मिटरको उचाइमा रहेको आयोजनामा संखुवा खोलाको ९.१८ घनमिटर प्रतिसेकेन्ड पानी उपयोग हुनेछ । आयोजनाको मुख्य हेडवर्क्स संखुवा खोला र लुनसुन खोलाको संगमबाट करिब ७५० मिटर माथिल्लो तटमा निर्माण हुने कम्पनीले जनाएको छ । अध्ययनअनुसार आयोजनाबाट वार्षिक २४४ गिगावाट घन्टा (२४ करोड ४० लाख युनिट) विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्