फलोअप
काठमाडौं । बागमती प्रदेश सरकारले २०७८ सालमा बनाएको ‘सार्वजनिक यात्रुवाहक विद्युतीय ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड’ले नयाँ ट्याक्सी र २० वर्ष पुराना ट्याक्सीलाई नयाँमा रुपान्तरण गर्दा अनिवार्य विद्युतीय सेडान ट्याक्सी लिनुपर्ने व्यवस्था गरेको छ ।
तत्कालीन सरकारले पर्यटकीय दृष्टिकोण र ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई सुविधासम्पन्न बनाउन समान खालको मापदण्ड तयार गरेको छ । तर, सेडान मोडलका ट्याक्सी ल्याउन सक्ने अनेकन् विकल्प हुँदाहुँदै ह्याचब्याक भित्र्याएर व्यवसायीले त्यसैअनुसारको मापदण्ड बनाउन दबाब सिर्जना गरेको पाइएको छ ।
व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले ह्याचब्याक गाडी (दायुन) ल्याएर मापदण्ड थप्न दबाब दिएको कतिपय व्यवसायीको अरोप छ । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पनि व्यवसायीले दबाब दिएका कारण सबैलाई हुनेगरी मापदण्ड थप्न लागिएको बताएका छन् ।
‘सेडानमात्र भनेर सिन्डिकेट लगाएको आरोप व्यवसायीहरुले लगाउनुभयो, त्यसै भएर सबैलाई हुनेगरी मापदण्ड थप्न लागेका हौँ,’ नेपाल प्रफिटसँग उनले भने, ‘सबैको सल्लाहमा गरिएको छ, सेडानलाई विस्थापित गर्न खोजिएको होइन, एसयूभी मोडल थप्नमात्र लागिएको हो ।’
तर, बिनाकारण मापदण्ड थप्दा सेडान मोडलका जुनसुकै ब्रान्डका लागि विकल्प खुला हुँदाहुँदै अनेकन् मोडलका ट्याक्सी ‘खिचडी’ जस्तो सडकमा देखिने भएको छ । साथै, साना ह्याचब्याक गाडीलाई ट्याक्सीको अनुमति दिइँदा फेरि लगेज राख्नै समस्या हुने ट्याक्सी व्यवसायीको चिन्ता छ ।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठ मापदण्ड थपेर एसयूभी भन्दै ह्याचब्याक मोडलका ट्याक्सी भित्र्याउने हो भने फेरि पनि पुरानै ट्याक्सीमा जस्तो लगेज राख्न समस्या हुने बताउँछन् ।
‘ह्याचब्याक ट्याक्सी सञ्चालनमा ल्याउँदा दुईवटा लगेज हुनासाथ कि त अर्को गाडी बुक गर्नुपर्यो कि त छतमा राख्नुपर्छ,’ उनी भन्छन्, ‘तर ट्याक्सीमा हुट राख्न पाउने कानुनी व्यवस्था नै छैन, यसले थप समस्या निम्त्याउने निश्चित छ ।’
सेडान मोडल यात्रुका लागि सुविधाजनक, पर्याप्त बुट स्पेस भएको र लगेजका लागि ठूलो ठाउँ हुने भएकाले ट्याक्सीका लागि उपयुक्त हुने श्रेष्ठ बताउँछन् । ‘यात्रुको सुरक्षाका लागि पनि सेडान मोडल विश्वभर ट्याक्सीका रुपमा प्रयोगमा ल्याइएको हो,’ उनले भने, ‘तर व्यवसायीले जे जस्तो गाडी ल्याउँछन्, त्यस्तै मापदण्ड सरकारले बनाइदिने प्रवृत्तिले एकरुपता मात्र बिग्रिँदैन, नीतिगत अस्थिरताले व्यवसायी पनि निराश हुने खतरा बढ्छ ।’
मन्त्री परिवर्तन हुनासाथ मापदण्ड पनि फेरिँदै, थपिँदै जाने हो भने व्यवसायीले कसरी लगानी गर्न सक्छन् भन्दै उनले प्रश्न गरे । ‘नीतिगत अस्थिरताले पैसा डुब्ने जोखिम भएपछि आगामी दिनमा व्यवसायी पनि लगानी हाल्न हच्किन्छन्,’ श्रेष्ठले भने ।
बागमती सरकारका पूर्व श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अन्तर्राष्ट्रिय अभ्यास, प्रयोग एवं यात्रुको सुविधा तथा यातायात व्यवस्था विभागले बनाएको ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड २०७७’ लाई आधार बनाएर ट्याक्सीको मोडल ‘सेडान’ निर्धारण गरिएको बताउँछन् ।
‘देशको संघीय राजधानी रहेको, पर्यटकको आवागमन बढी हुने सहर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल र लामो यात्राका लागि सुट्केसलगायत लगेज राख्न पनि सहज होस् भन्ने हेतुले मापदण्डमा सेडान मोडल तोकिएको हो,’ उनले भने, ‘सहरमा एकैप्रकारका ट्याक्सी हुनु नै राम्रो हुन्छ ।’ अहिलेको मापदण्ड उनकै अग्रसरतामा बनेको हो ।
त्यसअघि विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदै नेपालप्रति पर्यटकको दृष्टिकोण नै बिगार्ने खालका ट्याक्सी अब फेर्नुपर्छ ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड’ निर्धारण गरेको थियो । विभागका तत्कालीन महानिर्देशक गोगनबहादुर हमाल पनि पर्यटकीय दृष्टिकोण, सहरी सौन्दर्य, लगेजलगायतका कुरालाई ध्यानमा राख्दै एकै मोडलका ट्याक्सी सडकमा ल्याउनु उपयुक्त हुने बताउँछन् । सो मापदण्ड उनकै पालामा जारी भएको थियो ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ जारी भएपछि प्रदेश सरकारले ट्याक्सीको नयाँ मापदण्ड बनाएको हो । ऐनको दफा २८ र दफा २२२ अनुसार बागमती प्रदेश सरकारले तीन वर्षअघि ‘सार्वजनिक यात्रुवाहक विद्युतीय ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८’ जारी गरेको छ ।
मापदण्डले २० वर्ष पुराना ट्याक्सीलाई नयाँमा रुपान्तरण गर्दा र नयाँ लिँदा अनिवार्य विद्युतीय सेडान ट्याक्सी लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै साधारण र विशेष (डिलक्स) प्रकृतिका गरी ट्याक्सीको वर्गीकरण गरिएको छ ।
नयाँ मापदण्डअनुसार टाटा कम्पनीको नेपालका लागि आधिकारिक वितरण सिप्रदी ट्रेडिङले ल्याएको साधारण स्पेसिफिकेसनको एक्सप्रेस-टी ईभी अहिले सडकमा गुडिरहेका छन् । विशेष प्रकृति (डिलक्स)का ट्याक्सी बल्ल नेपाल भित्रिँदैछन् । सरिना जी ट्रेडर्सले डिलक्स प्रकृतिको ईभीइजी सेडान ट्याक्सी ल्याएको छ । तर, मापदण्ड पूर्णरुपमा कार्यान्वयनमा नआइसक्दै आफूअनुकूल बनाउन चलखेल सुरु भएको हो ।
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal