ताप्लेजुङ (फुङलिङ) । बिहीबार (फागुन ८) अपराह्नतिर ‘केबलकार बटम स्टेसन’मा घाइते ल्याउन एम्बुलेन्स पुग्यो । त्यसबेला सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप रोकिएको थियो । कोणसभालाई ‘नो केबलकार’ पक्षधरका अगुवाले सम्बोधन गर्दै थिए । एम्बुलेन्समा चालकमात्र थिए ।
एम्बुलेन्स पछि-पछि थियो अर्को गाडी । गाडीभित्र मानव अधिकारकर्मी इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ र उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू थिए ।
मानव अधिकारकर्मी दियाली र रेडक्रसकर्मीले पोसाक लगाएकै थिए । उनीहरु सुरक्षा निकाय प्रमुख र प्रदर्शनकारी दुवैको अनुरोधमा घाइतेको उद्धार गर्न एम्बुलेन्ससहित गाडी लिएर पुगेका थिए ।
तर दुर्भाग्य, बाहिर निस्किन नपाउँदै प्रदर्शनकारीले गाडी तोडफोड गरे । ढुंगा र लाठीले गाडी तोडफोड गरे । चालक राजकुमार पौडेललाई निर्घात कुटपिट गरे । एउटा गाडी र चालकमाथि भइरहेको बर्बरतापूर्ण आक्रमणलाई सुरक्षाकर्मीले त्यसबेला नियन्त्रणमा लिन सकेन । केही बेरपछि आक्रमणकारीको आवेग मत्थर भयो ।
चालकलाई हतार-हतार उपचारका लागि जिल्ला अस्पताल लगियो । तर, उपचार सम्भव हुन सकेन । सुविधा सम्पन्न अस्पतालमा रेफर गरेकाले राति नै एम्बुलेन्समार्फत झापा पुर्याइयो ।
घाइतेको उद्धारका लागि मानव अधिकारकर्मी र रेडक्रसकर्मी रहरले गएका थिएनन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङ्खिम, अर्को प्रदर्शनरत समूहको नेतृत्व गरिरहेका राम मादेनलगायतको अनुरोधमा उनीहरु एम्बुलेन्स लिएर पुगेका थिए ।
‘तर गाडीबाट झर्न नपाउँदै ढुंगा र लाठी प्रहार हुन थाल्यो । हतार-हतार गाडीबाट ओर्लियौँ । हामी तपाईंहरु दुवै पक्षको अनुरोधमा आएका हौँ भन्यौँ । हाम्रो अनुरोध उनीहरुले सुनेनन्, दुःख लाग्यो,’ रेडक्रस सभापति गुरुङले भने ।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनरत पक्ष अनेक भागमा विभाजित थियो । उनीहरु कोही कसैको नियन्त्रणमा थिएनन् । आफैँ बोलाएर आफैँ कुटपिटमा उत्रिने उनीहरुको रवैयाले प्रदर्शनलाई उग्र बनाउने ध्येय स्पष्ट गरेको थियो ।
केहीबेरमा स्थिति सामान्य बन्यो । श्री लिङ्खिम, नवीन पोमू, खगेन्द्र फेम्बोलगायतले मानव अधिकारकर्मी र रेडक्रसकर्मीसँग गल्ती स्वीकार गरे । ‘पहिला एम्बुलेन्समात्र आउने कुरा थियो, पछि-पछि अर्को गाडी पनि आएको देख्दा हाम्रा साथीहरु झुक्किएका हुन्,’ नेपाल प्रफिटसँग लिङ्खिमले भने, ‘त्यसमा हामीले तत्काल संयमता अपनायौँ ।’
तर, मानव अधिकारकर्मीहरु त्यतिमा मात्र विश्वस्त छैनन् । प्रदर्शनरत पक्षलाई कमल लिम्बू, इन्द्रबहादुर गुरुङ र एलिना दियालीलगायतले प्रश्न गरेका छन्, ‘बोलाएर चालक कुटपिट गर्ने अनि गाडी तोडफोड गर्ने ? त्यसको जिम्मा लिने कि नलिने ?’
प्रदर्शनमा उत्रिएका पक्षमाथि अहिले चौतर्फी प्रश्न तेर्सिएको छ- फेरि भोलिका दिनमा उद्धार गर्नुपर्ने अवस्था आएमा अब को जान तयार होला ? यस विषयमा आजसम्म पनि आन्दोलनरत पक्षले संस्थागत धारणा सार्वजनिक गरेको छैन ।
इन्सेक प्रतिनिधि एलिना दियालीले दुवै पक्षको अनुरोधमा उद्धारमा जानु मानवीय धर्म भए पनि त्यति धेरै अमानवीय शैलीबाट आक्रमण हुन्छ होला भन्ने नसोचेको बताइन् । ‘हामी युनिफर्ममै थियौँ तर अप्रत्यासित आक्रमण भयो, गाडी ध्वस्त पारिएको छ, लाठी र ढुंगा लागेका मेरा हातखुट्टा अहिले पनि दुखिरहेका छन्,’ उनले भनिन्, ‘चालकको झापास्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको र अहिले खतरामुक्त रहेको जानकारी आएको छ ।’
केबलकार खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका पक्षहरुले फागुन ६ देखि ८ सम्म पाथीभरा मुक्कुमलुङ पैदल यात्रा तय गरेको थियो । उनीहरु काफ्लेपाटीबाट उकालो पैदल यात्रा गरेर ठूलो फेदीसम्म पुगे । त्यहीँ राजेन्द्र महतोले सम्बोधन गरे । महतोले सरकारलाई उत्तेजित शैलीमा चेतावनी दिँदै प्रदर्शनरत पक्षलाई युवादस्ता तयार गरी परिचालन गर्न निर्देशन नै दिए ।
कहाँका हुन् पाथीभरामा ‘नो केबलकार’ भन्दै विरोध गर्ने र काठमाडौंमा वार्तामा बस्नेहरु ?
‘केवलकार बनाउन दिनु भनेको राज्यलाई छाडा छोड्नु हो, तुरन्त रोकौं’ भन्दै सरकारविरुद्ध देशभर आन्दोलन चर्काउने र राज्यलाई सवक सिकाउने चेतावनी उनले दिए । तर, ‘केबलकार बन्दा राज्य कसरी छाडा हुन्छ’ भन्ने उनले स्पष्ट पारेनन् । त्यसपछि ठूलोफेदीबाट नाराजुलससहितको र्याली ओरालो झर्यो ।
काफ्लेपाटीमा नाराजुलसहितको कोणसभा गर्ने अनुमान थियो । तर, बुलडाँडामा केहीबेर नाराजुलस गरेपछि उनीहरु पैदलमार्ग छाडेर जंगलतिर लागे । जंगलको बाटो हुँदै केबलकार बटम स्टेसनमा पुगेर विरोध कार्यक्रम गर्ने निधो गरे ।
केबलकार बटम स्टेसनदेखि करिब एक किलोमिटरमाथि पूजा चल्दै थियो । त्यो पूजास्थल निहुँ खोज्नका लागि बनाइएको हो । किनकि, त्यहाँ यसअघि कहिल्यै पूजा गर्ने गरिएको थिएन । उनीहरु केहीबेर पूजास्थलमा बसे ।
अनि दुईतिरबाट केबलकार निर्माणस्थलतर्फ झरे । प्रहरीले तोकिएको क्षेत्रभित्र प्रवेश नगर्न अनुरोध गर्यो । सुरक्षाकर्मीलाई बेवास्ता गर्दै उनीहरु अघि बढे । दुवै पक्षबीच धकेलाधकेल भयो । सुरक्षाकर्मीले धकेलेर उनीहरुलाई करिब ३ सय मिटर परसम्म पुर्याए ।
त्यसपछि प्रदर्शनरत पक्षले सुरक्षाकर्मीमाथि ढुंगा र लाठी प्रहार गर्न थाल्यो । प्रहरीले रक्षात्मक शैली अपनायो । ढुंगा र लाठी प्रहारसँगै अझ अगाडि बढ्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्यो । प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । ढुंगाले लागेर भुइँमा ढलेका सुरक्षाकर्मीले जसोतसो भागेर ज्यान बचाए ।
घटनामा ११ जना सुरक्षाकर्मी र प्रदर्शनमा उत्रिएका २ जना घाइते भएका छन् । सुरक्षाकर्मीको टाउको र खुट्टामा चोट लागेको छ । सामाजिक सञ्जालमा देखिएको भिडियोमा सुरक्षाकर्मीले क्षति बेहोरेर पनि संयमता अपनाएको देखिन्छ ।
घटनाको प्रकृति र भिडियोमा सुरुदेखि अन्त्यसम्मकै दृश्य कैद भएकाले विश्लेषण गर्न सजिलो बनेको छ । घटनाको दृश्य प्रदर्शन जिल्लाबाहिरको कब्जामा छ भन्ने थप अर्को प्रमाण बनेको छ ।
सुरुवातदेखि नै आन्दोलनमा सहभागी हुने, घाइते हुने, पक्राउ पर्ने, भाषण गर्ने र वार्ता गर्ने सबै बाहिरका छन् । उनीहरु कतिपय बीच एकआपसमा परिचयसमेत छैन । जिल्लाका अधिकांश मानिस केबलकारको पक्षमा छन् भन्ने प्रमाण केही दिनअघिको (फागुन ६ गते) को सद्भाव र्यालीले पुष्टि गरेको छ ।
बाहिरबाट आएका व्यक्ति कुन पृष्ठभूमिका हुन् भनेर लेखाजोखा गर्न स्थानीय प्रशासन चुकेको छ । जिल्ला बाहिरबाट आएकाले गर्ने गतिविधिकै कारण स्थिति थप बिग्रिने भन्दै चिन्ता बढेको छ । बाहिरका मानिसको उग्रता रोक्न स्वस्फूर्त स्थानीयबासी सडकमा निस्किएमा घटनाले अर्कै मोड लिने खतरा बढेको छ ।
किनभने, ‘नो केबलकार’ समूहसँग केबलकार किन नबनाउने भन्ने प्रश्नको स्पष्ट जवाफ छैन । केबलकार बन्दा पहिचान कसरी मासिन्छ ? केबलकार कसरी विकास विरोधी हो ? भन्ने प्रश्नको लिङ्खिमले प्रस्ट जवाफ दिएनन् । ‘कुरो के हो भने केबलकार बनाएर विकास हुँदैन, केबलकार बन्दैमा लाखौँ मानिस आउँछन् भन्ने छैन, उल्टै हाम्रो पहिचान मासिन्छ,’ लिङ्खिमले भने, ‘यो हाम्रो आस्थाको धरोहर हो ।’
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal