• Menu

चितवन निकुञ्जमा वन्यजन्तुका लागि सोलार बोरिङ, पोखरी संरक्षणमा २१ लाख खर्च

नेपाल प्रफिट

२०८१ फागुन ९, शुक्रबार १४:५५

चितवन निकुञ्जमा वन्यजन्तुका लागि सोलार बोरिङ, पोखरी संरक्षणमा २१ लाख खर्च

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको संख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको हो । घडियाल गोही प्रजनन केन्द्रमा एउटा, हात्ती सार क्षेत्रमा एउटा, भिम्लेमा दुईवटा, कसरामा दुईवटा, पुरानो पदमपुर क्षेत्रमा एउटा, डुमरिया क्षेत्रमा एउटा र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।

चरन क्षेत्रसँगै यहाँ रहेका जनावरलाई पानीको अभावमा बाहिर निस्कनु नपरोस् भनेर सुक्खा क्षेत्रमा बोरिङ जडान गरिएको हो । उनका अनुसार १० लाखको लागतमा नियमित पानी सञ्चालन हुने गरी सोलार बोरिङ जडान गरिँदै आएको छ ।

यसवर्ष निकुञ्ज र तराई भू–परिधि कार्यक्रम तालले संयुक्त रुपमा पानीको मुहान संरक्षण र पोखरी मर्मतका लागि २१ लाख खर्च गर्ने गरी काम भइरहेको उनले बताए ।

निकुञ्जको नियमित बजेटबाट ६ लाख र ताल कार्यक्रमको १५ लाख बजेटबाट पानीको मुहान संरक्षण र पोखरी मर्मत तथा सरसफाइ गर्न लागिएको हो । विशेषगरी लामिताल, थपलिया ताल, देवीताल क्षेत्रमा मिचाहा प्रजातिका झारहरुले पोखरी सुक्खा बनाउन थालेपछि ती ताललाई सरसफाइ गरिएको छ ।

थप दुईवटा पोखरी नयाँ निर्माण गरिएको उनले जानकारी दिए । उनले भने ‘ताल कार्यक्रमले पोखरी निर्माणसँगै मर्मतको काम गरिरहेको छ । हामीले सरसफाइ र निर्माणको काम गरेका छौँ । ’

प्रतिक्रिया दिनुहोस्