काठमाडौं । ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीको मन्दिरसम्म पुग्न सहजताका लागि माग ८ देखि केबलकार निर्माण सुरु भएपछि भइरहेको विरोध प्रदर्शनमा अनेकन् अनौठा गतिविधि देखिइरहेका छन् ।
‘नो केबलकार’ भनेर विरोध प्रदर्शन गर्नेहरु पाथीभरा क्षेत्र या ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रका अत्यन्तै न्यून छन् । स्थानीयबासी केबलकार बनोस् भन्ने चाहन्छन् । केबलकार बन्दा ठूलो संख्यामा पर्यटक भित्रिने हुँदा पाथीभरा क्षेत्र र ताप्लेजुङको मात्र नभएर पूर्वाञ्चलकै विकास हुनेमा उनीहरु विश्वस्त छन् ।
अहिलेको तुलनामा चार-पाँच गुणा बढी पर्यटक पुग्दा सयौं अरु होटल खुल्नुपर्छ । अहिलेको व्यापार व्यवसायले थेग्दैन, सयौं व्यवसायी थपिनुपर्छ । स्थानीय कृषि उपज जति उत्पादन भए पनि धान्दैन । दुध, फलफूल र माछामासुको बजार फस्टाउँछ । केबलकारले प्राथमिक सेयर (आईपीओ) जारी गर्दा स्थानीय र जिल्लाबासी पहिलो हकदार हुन्छन् ।
अहिले त्यस क्षेत्रमा रजिस्टर्ड भरियाको संख्या जम्मा २१२ छ । जबकि, केबलकार सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको कम्पनीले ३ सयभन्दा बढीलाई रोजगारी दिने बताइसकेको छ । रोजगारीमा स्थानीयलाई उच्च प्राथमिकतामा राखिने स्वयं आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले पटक-पटक भनिसकेका छन् । समग्रमा, त्यसको प्रतिफल बाहिरी जिल्लाका बासिन्दा वा केबलकार सञ्चालकले भन्दा स्थानीयले धेरै हिसाबले बढी पाउँछन् ।
केबलकारले दिने लाभका बहुआयाम बुझेका स्थानीयबासीले मंगलबार आयोजित र्यालीमा सक्रिय सहभागिता जनाए र केबलकार चाँडो बन्नुपर्छ भन्ने स्पष्ट सन्देश पनि दिए । तर, यसबीचमा केही अनौठा गतिविधि पनि भइरहेका छन् । ‘नो केबलकार’ भन्दै सरकारसँग काठमाडौंमा वार्ता गर्नेहरु कोही पनि ताप्लेजुङबाट थिएनन् ।
केबलकारविरुद्धको प्रदर्शनमा टेकेर पहिचानवादी मुद्दा चर्काउने रणनीतिमा धेरै समूह छन् । उनीहरुले बोकेका कतिपय ब्यानरमा ‘नो केबलकार’ सँगै ‘नो कोशी’ लेखिएबाट पनि यो प्रस्ट हुन्छ ।
विरोध प्रदर्शनमा उत्रिएको समूहको लक्ष्य केबलकार होइन, केबलकारमा सफल भए ‘नो कोशी’ र त्यसमा सफल भएर ताप्लेजुङमा बनिरहेका जलविद्युत आयोजना उनीहरुको निशानामा छ भन्ने स्पष्ट रुपमा बाहिर आइसकेको छ ।
यस्तै अनौठोका बीच अर्को आश्चर्यमा पार्ने घटना फेला परेको छ । पाथीभरा केबलकार निर्माणका लागि अनुमति दिन हस्ताक्षर गर्ने व्यक्ति नै केबलकार खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शनमा उत्रिएको भेटिएको छ ।
फुङलिङका तत्कालीन नगर प्रमुख छत्रपति प्याकुरेलको अध्यक्षतामा सम्पन्न नगरपालिकाको चौथो नगर सभाले २०७५ पुस १४ मा पाथीभरादेवी दर्शन केबलकार प्रालिलाई नगरको वडा नं. ११ तल्लोफेदी/ काफ्लेपाटीबाट पाथीभरा देवी मन्दिरसम्म जाने केबलकार निर्माण तथा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । त्यो निर्णयमा हस्ताक्षर गर्ने तत्कालीन नगर सभा सदस्य डम्बरबहादुर पालुङवा अहिले ‘नो केबलकार’ भन्दै सडकमा उत्रिएका हुन् ।
चुनावअघि पालुवाङ तत्कालीन लिम्बुवान मुक्ति मोर्चाका सक्रिय सदस्य थिए । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा फुङलिङ नगरपालिका वडा नं. ७ बाट लिम्बुवानका तर्फबाट नेकपा एमालेसँग चुनावी सहकार्य गरे र सूर्य चुनाव चिन्हबाट नगर सदस्य पदमा विजयी भए ।
पालुङवा आफैंले हस्ताक्षर गरेको निर्णयअनुरुप काफ्लेपाटीदेखि करिब एक किलोमिटर दक्षिणपूर्व डडेले भन्ने स्थानमा केबलकारको तल्लो स्टेसन निर्माण सुरु भएको छ । त्यही केबलकार निर्माण अनुमति दिने निर्णयमा हस्ताक्षर गरेका पालुङवा यसबेला केबलकार खारेजी संघर्ष समितिको नेतृत्व गर्दै विरोध प्रदर्शनमा उत्रिएको भेटिएको छ ।