काठमाडौं । लाग्छ, पाथीभरामा केबलकार ठिक कि बेठिक भन्नेमा समाज दुई भागमा विभाजित छ । तर, के बाहिर हल्ला चलेझैँ साँच्चिकै समाज दुई भागमै विभाजित छ त ?
सामाजिक सञ्जालमा केबलकारको विपक्षमा रहेकाको चर्को बोलीलाई नै मापन गरेर समाज दुई भागमा विभाजित छ भन्ने प्राय: सतही बुझाइ छ । भित्री रहस्य भने अधिकांश मानिस केबलकारको पक्षमा छन् । तर, उनीहरु खुलेर बोल्न सकेका छैनन् ।
‘केबलकार बन्नु हुँदैन’ भनेर बोल्नेहरु सडकदेखि सामाजिक सञ्जालमा छाइरहेका छन् । केबलकारको विपक्षमा उभिएकाहरु सामाजिक सञ्जालमा ‘नो केबलकार’ क्याम्पेनमा छन् । उनीहरुले केबलकारको पक्षमा दिएका अन्तर्वार्ता वा स्टाटस वा समाचारमा तुरुन्त प्रतिक्रिया जनाएर गालीगलौज गर्ने र सेयर गर्ने क्याम्पेनअनुसार काम गरिरहेका छन् ।
‘नो केबलकार’ पक्षको भेलामा प्राय: जिल्ला बाहिरबाट नै मानिसहरु उपस्थित भएको घटनाले नै पुष्टि गरिसकेको छ । विरोध प्रदर्शनमा जाने, पक्राउ पर्ने र घाइते हुनेमात्र होइन, वार्ता टोलीमा समेत बाहिरकै हाबी छन् । ‘देशको देवता गाउँको भूत’ भन्ने उखानझैँ जति नै विद्वान भए पनि वास्तविक ठाउँप्रति उनीहरुमा अपनत्व हुँदैन ।
पहिचानवादी दलका नेताको नेतृत्वमा भेला भएका उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरले नै प्रमाणित गर्छ । त्यही भएर पाथीभरामा केबलकारको विरोध लेखिएको कतिपय ब्यानरमा ‘नो कोशी’ पनि सँगै लेखिएको छ ।
यसको स्पष्ट सन्देश हो, केबलकार विफल बनाएमा ‘नो कोशी’ आन्दोलनलाई बल मिल्छ । केबलकार खारेजी समूह हाइड्रोपावर आयोजना बन्द गर्ने अभियानमा पनि छ । केबलकारको विषय टुंगिनेबित्तिकै जिल्लामा निर्माणाधीन र निर्माणको तयारीमा रहेका हाइड्रोपावर आयोजनामा विरोध प्रदर्शन केन्द्रित गर्ने उनीहरुको दाउ छ ।
दुई भाग भनेको आधा-आधा अर्थात् बराबरी हो । सत्य हो, ‘अधिकांश केबलकारको पक्षमा छन् । थोरै मात्र केबलकारको विपक्षमा छन् ।’ केबलकारको विपक्षमा धेरै छन् भन्ने झल्को दिनेगरी उनीहरुले जिल्लाबाहिरका मान्छे ल्याउने गरेका छन् । पाँचरथर, इलाम, झापा, धनकुटा र सुनसरीमात्र होइन, विरोध प्रदर्शनका लागि काठमाडौंदेखिका मानिस ओसारिसएका छन् ।
बाहिरका मान्छे भेला गरेको तागतमा ताप्लेजुङमा आधाभन्दा बढीले केबलकार रुचाएका छैनन् भन्ने भाष्य निर्माण गर्ने प्रोपोगान्डा भइरहेको छ । उसो भए केबलकारको पक्षमा उभिएकाहरु किन बोल्दैनन् त ? उनीहरु भन्छन्, ‘केबलकारको काम रोकिएको छैन । त्यही भएर किन बोल्नु ।’
केबलकारको पक्षमा बोल्ने र लेख्ने काम गरे खपिनसक्नु गालीको भागिदार भइने चिन्ता उनीहरुमा छ । पक्षमा बोलेका नेतादेखि सर्वसाधारणको सामाजिक सञ्जाल हेर्दामात्र यो स्पष्ट भइहाल्छ । अझ खुलेर केबलकारको वकालत गर्नेविरुद्ध उनीहरु भौतिक आक्रमणमै पनि उत्रिने गरेका छन् ।
केबलकारको पक्षमा वकालत गर्नेमध्येका एक हुन्, पदम चेन्जी माबो । माबोलाई सुनसरीमा आइतबार (फागुन ४ गते) कालोमोसो नै दलियो । भिडियोमा प्रस्ट देखिने गरी र बुझ्ने गरी बोलिएका शब्दले केबलकारको पक्षमा बोल्नेहरुमा त्रास बढाएको छ । अझ ‘नो केबलकार’ पक्षधरले चेतावनीको शैलीमा त्यसलाई प्रतिनिधिमूलक घटनामात्र भएको बताएका छन् ।
‘नो केबलकार’ समूहमा आबद्धको स्टाटसमा लेखिएको छ, ‘यो सुरुवात हो । अन्त्य होइन ।’ सार्वजनिक स्थलमा एउटा हुलले एउटा व्यक्तिलाई कब्जामा लिएर गरेको हर्कतप्रति त केबलकार पक्षधर बोल्न सकेका छैनन् भने ‘केबलकार बनाउनुपर्छ’ भनेर खुलमखुल्ला कसरी बोल्न सक्लान् ? गुदी कुरा यही हो । खैर, माबोमाथि गरिएको व्यवहारप्रति राज्य कानुनी बाटोमा अघि बढ्छ वा उनीहरुको मनोबल बढ्ने गरी चुपचाप बस्छ, त्यो समयले देखाउला ।
फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेन भन्छन्, ‘मेरो चुनावी एजेन्डा नै केबलकार बनाउनुपर्छ भन्ने थियो । मेरो अडानमा म क्लियर छु ।’ मादेन ती व्यक्ति हुन्, जसले पाथीभरामा महागुरु फाल्गुनन्द लिङदेनको सालिक राख्न महत्वपूर्ण योगदान पुर्याएका थिए । पाथीभरामा सालिक राख्न हुने र नहुनेमा मतभेद थियो । त्यो बेला मादेन स्वयंले भनेका थिए, ‘ महागुरु राष्ट्रिय विभूति हुन् । पाथीभरामा पनि सालिक राख्नुपर्छ । तोक्मेडाँडामा पनि राख्नुपर्छ ।’ सालिक राख्नुअघि र राख्ने अवधिसम्म नगर प्रमुख र हालको ‘नो केबलकार’ पक्षबीच राम्रो सम्बन्ध थियो ।
जब केबलकारको डकुमेन्टेसनको काम र सदरमुकामभित्र सडक चौडा गर्न घरटहरा भत्काउने काम सुरु भयो, तब टकराव सुरु भयो । केबलकार खारेजी संयुक्त संघर्ष समिति संयोजक खगेन्द्र फेम्बो र नगर प्रमुख मादेन केबलकार र सडक चौडा गर्ने काममा एक-आपसमा विभाजित भए ।
फेम्बो सर्वसाधारणको घर भत्काउन नहुने धारणा राख्थे । घर भत्किने डरले आफ्नो अडेसो लागेकाहरुको सदासयतामाथि खेल्दै फेम्बोले उनीहरुलाई केबलकारको विपक्षमा उभिन बाध्य बनाएका छन् । उनीहरुलाई केबलकारको विपक्षमा विरोध प्रदर्शनमा उभ्याएका छन् । अझ भनौं, श्री लिङ्खिमको संयोजकत्वमा गठित मुक्कुमलुङ सघर्ष समिति (२०७६ असारमा गठित समिति) सँग जोडिएर विरोध प्रदर्शनका कार्यक्रम थप सशक्त बनाएका छन् । अरु संघसंस्थालाई पनि ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।
केबलकार पक्षधरले केही समयअघि ठूलो जनप्रदर्शन गर्यो । उक्त प्रदर्शनमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो । वीरेन्द्र चोकमा कोणसभालाई सम्बोधन गर्ने थुप्रै जनप्रतिनिधि थिए । आज मंगलबार पनि केबलकार पक्षधरले विशाल प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबे केबलकारको पक्षमा छन् । संविधानसभा सदस्यद्वय डम्बरध्वज तुम्बाहाम्फे र भुपेन्द्र थेबे पनि पक्षमै छन् । तुम्बाहाम्फे नेकपा एमालेका वर्तमान र थेबे निर्वतमान ताप्लेजुङ जिल्ला अध्यक्ष हुन् ।
कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो र उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम प्रस्ट रुपमा खुलेका छैनन् । नेपाल प्रफिटसँगको कुराकानीमा मन्त्री हाङगामले आफू विकास विरोधी नभएको तर्क गरे ।
‘केबलकारका सन्दर्भमा जग्गा किनबेचदेखि कम्पनी किनबेचसम्मका धेरै कुरा छन्,’ उनले भने, ‘मूल कुरा हामी विकास विरोधी होइनौं, स्थानीयका केही माग छन्, त्यसमा सहमति खोज्नुपर्छ, सहमति र सहकार्यबाट अघि बढ्नुपर्छ ।’
पूर्वमन्त्री मेन्याङबो भने केबलकारको विषयमा धारणा माग गरेपछि ‘पछि कुरा गरौंला’ भनेर पन्छिए । उनले दिएको समयमा दोस्रो पटक प्रयास गर्दा फोन उठाएनन् । केबलकार निर्माण भइरहेको क्षेत्रका प्रदेश सभाका जनप्रतिनिधि मेन्याङबोमाथि भित्रभित्र विकास विरोधीलाई साथ दिएको आरोप लागिरहेको छ ।
केबलकार पक्ष (चन्द्रप्रसाद ढकाल) ले स्पेस नदिएको बाहिरी विश्लेषण छ । तर, ढकालले केही दिनअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्राय: सबै माननीयज्यूसँग छलफल भएको छ । सबै सकारात्मक छन् ।’
यद्यपि, मैदानमा ढकालले भनेजस्तो महसुस हुने खालको गतिविधि भने देखिएको छैन । प्रदेश सांसद एवं पूर्वमन्त्री निर्मला तावा पहिचानको वकालत गर्दै आएकी छन् । तावा भन्छिन्, ‘पहिचान मेटिने गरी केबलकार बन्नु हुँदैन । सम्पदा हो । जोगाउने काम गरौँ ।’
फुङलिङ नगरपालिका, सिरिजंगा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाको क्षेत्र पर्छ, पाथीभरा । तर, पैदल हुँदै पाथीभरासम्म जान फुङलिङ नगरपालिका १० फुरुम्बु र वडा नं. ११ फावाखोला टेक्नुपर्छ । फक्ताङलुङ गाउँपालिकाको लिङखिम र सिरिजंगा गाउँपालिकाको सिकैचाको भूभाग पाथीभरा टुप्पोतिर पर्छ ।
याङ्वरक गाउँपालिकाको तिरिङेको पनि केही भाग पर्छ, पाथीभरा । तर, यी क्षेत्रमा बसोबास गर्नेहरुको मात्र होइन, सिंगो जिल्लाबासीको मनसाय बुझ्न काम भएको छैन । सायद स्थानीयसँग मसिनो गरी कुरा गर्ने समय दुवै पक्षसँग छैन । तथापि, अधिकांश भन्छन्, ‘केबलकार बन्छ होइन, केबलकार बन्नुपर्छ ।’
स्थानीयबासी केबलकारको पक्ष कि विपक्षमा छन् त भनेर जान्न रुचि भएकाहरुलाई वास्तविक अध्ययन अनुसन्धान गर्ने यो एउटा अवसर पनि हो । त्यही अध्ययनले पहिचान र मौलिकता मेटिन्छ कि जोगिन्छ भन्ने छर्लंग हुन्छ । अझ राज्यले नै ती क्षेत्रका बासिन्दाको राय बुझ्न कुनै बलियो संयन्त्र गठन गरे अझ राम्रो ।
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal