काठमाडौं । विदेशी लगानीकर्तासमक्ष निजी क्षेत्रले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको विगतदेखि नै बताउँदै आएको हो । तर, सरकारले अध्यादेशमार्फत ३० भन्दा बढी कानुनमा सुधार गरेपछि उनीहरुमा थप मनोबल बढेको पाइएको छ ।
गत वर्षको तुलनामा कर्जाको माग केही बढ्नुले पनि लगानीकर्तामा एक प्रकारको विश्वास बढेको रुपमा लिइएको छ । उनीहरुले विदेशी लगानीकर्तालाई हालै भएको कानुनी सुधारको बारेमा पनि बताउन थालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । यूके–नेपाल बिजनेस फोरमले काठमाडौंमा आयाोजना गरेको ‘अनप्याकिङ नेपाल : मार्केट अपरच्युनिटिज फर यूके बिजनेस’ सेसनमा विशेष वक्ताको रुपमा उनले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानुनी सुधार गरेको जानकारी दिए ।
यी सुधारले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भइरहेको उनको दाबी छ । यस्तै द्विपक्षीय लगानी सम्झौता अर्को महत्वपूर्ण पक्ष भएको उनले उल्लेख गरे । उनले यस सम्झौताले नेपाल र बेलायतबीचको विश्वासलाई बलियो बनाउने, लगानीको राम्रो सुरक्षा प्रदान गर्ने र व्यापारको सम्बन्धलाई सहज बनाउने धारणा राखे ।
नेपाल सम्भाव्यताले भरिपूर्ण देश भएको उल्लेख गर्दै उनले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार र स्वास्थ्य सेवा तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीलाई आग्रह गरे ।
‘महासंघको पहलमा धेरै नीतिगत सुधार भएका छन् । जसले नेपालमा लगानीमत्री वातावरण सिर्जना गरेको छ । यो अवस्थामा निरन्तर आर्थिक सुधार र बलियो अन्तर्राष्ट्रिय साझेदार बेलायती व्यवसायीलाई स्वागत गर्न तयार छौं । बेलायती विशेषज्ञता, प्रविधि र लगानीले नेपालको भविष्यलाई आकार दिन मद्दत गर्नेछ भने व्यवसायीलाई पनि दीर्घकालीन लाभ पनि दिनेछ,’ उनले भने ।
महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्तासँग सहजीकरण गरेको जानकारी पनि उनले दिए । अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासंघ सधैं तयार रहेको स्पष्ट पारे ।