• Menu

केबलकार बनाउन माग गर्दै ताप्लेजुङबासीको विशाल प्रदर्शन

नेपाल प्रफिट

२०८१ फागुन ६, २१:२०

केबलकार बनाउन माग गर्दै ताप्लेजुङबासीको विशाल प्रदर्शन
केबलकारको पक्षमा मंगलबार प्रदर्शनमा उत्रिएकाहरु ।

ताप्लेजुङ । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधीन केबलकारमा जिल्लाबाहिरका केही व्यक्तिले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा बृहत् जनप्रदर्शन भएको छ ।

आम स्थानीयहरु केबलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेको भन्दै आक्रोशित स्थानीयले छिटो केबलकार निर्माण गर्न पाथीभरा देवी केबलकार कम्पनीलाई आग्रह गरेका छन् ।

उनीहरुले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लाकार्ड र ब्यानरसहित सदरमुकाम फुङलिङमा विशाल प्रदर्शन गरेका हुन् । ताप्लेजुङको विकास र समृद्धि रोक्न जिल्लाबाहिर र बसाइँ सरी अन्यत्र पुगेका मान्छेलाई नलाग्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

ताप्लेजुङ विकासप्रेमी युवा समाजको आयोजनामा गरिएको विशाल प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिले विरोध गरिरहेका छन् ।

पाथीभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।

करिब दुई वर्षअघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिन थालेको छ । नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतिहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको छ ।

आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो सेयर लिएर काम अगाडि बढाएको हो । कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ ।

केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने कामसमेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी माघ पहिलो सातादेखि भौतिक निर्माणको काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्