काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ ।
अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण संकलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए ।
डोटीमा गत वर्ष नै क्षति विवरण संकलन गरिएकामा उक्त तथ्यांकलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए । उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् ।
जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण संकलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए ।
उनका अनुसार पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ ।
यकिन विवरण संकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रुपमा जाजरकोट पुगेर सोमबार पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम सञ्चालन गरेका छन् ।
उनीहरुले स्थानीय तह, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरलाई तालिम सञ्चालन गरेका हुन् । रुकुमपश्चिमका लागि पनि टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ ।