काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक भएको छ । नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएकोमा पाँच जना सर्टलिस्टमा परेका हुन् ।
अध्यक्ष छनोट समितिले सर्टलिस्टमा परेका पत्रकार शरद ओझासहित कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला र रामशरण पुडासैनीलाई फागुन १० गते अन्तर्वार्तामा बोलाएको छ । रेग्मी बिमा प्राधिकरणका निर्देशक हुन् भने चापागाईं तत्कालीन बिमा समितिका अध्यक्ष हुन् । बसौला स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष हुन् । त्यस्तै पुडासैनी पूर्वसचिव हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकतासम्बन्धी कसुरमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि रिक्त पदका लागि आवेदन खुला भएको थियो । सरकारले पुस २६ गते १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन माग गरेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा रहेको अध्यक्ष छनोट समितिमा अर्थसचिव र ज्योतिचन्द्र ओझा सदस्य छन् ।
सिफारिस समितिले अन्तर्वार्ताका लागि बोलाइएका पाँच जनासँगको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीन जनाको अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउनेछ । मन्त्रिपरिषदले तीन जनाबाट एक जनालाई चार वर्षका लागि अध्यक्षमा चयन गर्नेछ ।