काठमाडौं । सरकारले भन्सार दर घटाएको अढाई महिनामा सुनको भाउ पहिलाकै अवस्थामा आइपुगेको छ । भारतबाट नेपालमा सुन तस्करी हुनसक्ने डरले सरकारले भन्सार दर घटाएपछि मंसिर १० मा प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा झरेको सुनको भाउ माघ २९ मा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
मंसिर ९ मा प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको भाउ भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्दा मंसिर १० मा १ लाख ५१ हजार ३०० रुपैयाँमा झरेको थियो । यो अवधिमा सुनको भाउ प्रतितोला १८ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेका कारण समायोजनपछि पनि लगातार नेपाली बजारमा सुनको भाउ बढेको हो । मंसिर १० मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २६२५.५७ डलर थियो भने फागुन १ मा २९१५.१ डलरमा उक्लिएको छ । एक औंसमा २८.३५ ग्राम हुन्छ ।
भारतभन्दा नेपालमा सुनको मूल्य महँगो हुँदा तस्करी बढ्ने डरले सरकारले भन्सार दर घटाएको थियो । मंसिर १० मा भारतमा सुनको मूल्य प्रति १० ग्राम ७९ हजार ६३० भारतीय रुपैयाँ अर्थात् १ लाख २७ हजार ४०८ रुपैयाँ थियो भने फागुन १ मा प्रति १० ग्राम ९४ हजार ६४६ भारतीय रुपैयाँ अर्थात् १ लाख ५१ हजार ४३३ रुपैयाँ छ । मंसिर १० मा नेपालमा भने प्रति १० ग्राम १ लाख २९ हजार ७१५ रुपैयाँ थियो भने फागुन १ मा १ लाख ४५ हजार ५७५ रुपैयाँ पुगेको छ ।
भन्सार दर घटाएयता पुसभर खासै नबढेको सुन माघ लागेपछि उल्लेख्य बढेको छ । माघभरमै सुनको भाउ १ लाख ५५ हजार रुपैयाँ प्रतितोलाबाट १५ हजार २०० बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ ।