• Menu

विचार

पाथीभरा केबलकार विवाद : ‘हरिबहादुर’ शैलीमा ग्लोबल आइएमई बैंकमाथि प्रहार गर्नेहरुमा समर्पित

डीआर आचार्य

२०८१ माघ २८, १७:१४

पाथीभरा केबलकार विवाद : ‘हरिबहादुर’ शैलीमा ग्लोबल आइएमई बैंकमाथि प्रहार गर्नेहरुमा समर्पित

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘हरिबहादुर मदनबहादुर’ हास्य टेलिशृंखलाको यो रमाइलो अंश यतिबेला सम्झना आइरहेको छ-

ए हरिबहादुर ! हामीले यो घर तिमीलाई छाडेर जाने बेलामा भाँडाकुँडा थियो कि थिएन ?

थियो ।

ओढ्ने ओछ्याउने थियो कि थिएन ?

थियो ।

गाईभैँसी थियो कि थिएन ?

थियो ।

अनि कुखुराकुखुरी थियो कि थिएन ?

थियो ।

हो, त्यो सामान ल्याउन त !

कुन सामान ?

०००

कोशी प्रदेशको ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुक्कुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएपछि अनावश्यक विवाद बढेको छ । माघ ८ बाट परियोजना निर्माण सुरु भएपछिको विरोध प्रदर्शन र झडपमा केही मानिस घाइते पनि भए । ‘नो केबलकार’ समूहका नाममा पूर्वमा यातायात बन्द घोषणा गरियो । मानिसले अनाहकमा दुःख पाए ।

माघ २२ सम्मको वृतान्त यति नै हो । केबलकार निर्माण सुरु भएयता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं मुलुककै प्रतिष्ठित आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनले नेतृत्व गरिरहेको ग्लोबल आइएमई बैंकलाई जोडेर निम्नस्तरको टिप्पणी र प्रहार भइरहेका छन् । तर, ग्लोबल आइएमई बैंकमाथिको प्रहार ‘आफ्नै खुट्टामा बन्चरो’ हानेबराबर हो भन्नेमा कुनै हेक्का राखेको पाइँदैन ।

पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर बैंक वित्तीय संस्थामाथि प्रहार भएपछि धेरै क्षेत्रबाट विरोध भइरहेको छ । नियामक नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले पाथीभरा केबलकार निर्माणलाई जोडेर ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत भएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक (ग्लोबल आईएमई बैंक) माथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृंखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

त्यस्तै पाथीभरा केबलकार निर्माणसम्बन्धी विवादमा ग्लोबल आईएमई बैंकलाई अनावश्यक ढंगले मुछिएको भन्दै बैंक तथा वित्तीय संस्थासम्बद्ध विभिन्न संगठनहरुले आपत्ति जनाएका छन् । विरोधस्वरुप नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा आम सर्वसाधारणलाई त्रसित पार्ने, समाजमा भ्रम सिर्जना गर्ने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने तथा ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न सरकारी निकायहरूलाई आग्रह गरिएको छ ।

‘जिम्मेवार’ मिडिया पनि बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधिका विपक्षमा बलियोसँग उभिएका छन् । बैंक तथा वित्तीय संस्थामाथिको प्रहारविरुद्ध किन सबै क्षेत्र एक भइरहेका छन् । यो जान्नलाई ग्लोबल आइएमई बैंककै केही तथ्यहरु हेरौँ ।

आइएमई समूहले पाथीभरा देवीको मन्दिरसम्म पुग्न करिब तीन अर्ब रुपैयाँ लगानी गरेर केबलकार निर्माण अघि बढाएको हो । आइएमई समूहका अध्यक्ष ढकाल ग्लोबल आइएमई बैंकका पनि अध्यक्ष हुन् । यसकारण ताप्लेजुङको विकास विरोधी समूह र विदेशमा बसेर अराजकता फैलाउनेले ढकालसँग जोडेर बैंकमाथि प्रहार गरिरहेका छन् ।

अध्यक्ष ढकाल र उनले नेतृत्व गरिरहेको बैंकलाई गाली गर्नेहरु कतिपय तिनै हुन्, जो विदेशमा रगत पसिना बगाएर कमाएको पैसा उनैले नेतृत्व गरेको अर्को संस्था आइएमईमार्फत सुरक्षित तवरले वृद्ध बाबुआमालाई पठाउँछन् । श्रीमती र छोराछोरीको अनुहारमा मुस्कान छर्छन् ।

सामाजिक सञ्जालमा जे मनलाग्यो त्यही हठात् लेखिहाल्ने धेरैलाई थाहा नहुन सक्छ, ग्लोबल आइएमई बैंक चन्द्र ढकालको मात्र संस्था होइन, त्यहाँ लाखौँ सेयरधनी (साहु) छन् । धितोपत्रको दोस्रो बजारबाट सेयर खरिद गरेर जतिबेला पनि ग्लोबल आईएमई बैंकको साहु बन्न सकिन्छ ।

२०८०/८१ को १८औं वार्षिक प्रतिवेदनअनुसार ग्लोबल आइएमई बैंकको कुल सेयर संख्या ३६ करोड १२ लाख ८७ हजार ७०२ कित्ता छ । त्यसमा ५१.२४ प्रतिशत संस्थापक र ४८.७६ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व छ ।

अध्यक्ष ढकालसँग ९० लाख ५६ हजार ७५ कित्ता संस्थापक सेयर छ । यो कुल सेयर संख्याको २.५१ प्रतिशतमात्र हो । त्यस्तै कर्मचारी सञ्चय कोषको ४.७४ अथवा १ करोड ७१ लाख ४१ हजार २५१ कित्ता सेयर छ । यसर्थ, कर्मचारी सञ्चय कोषका कर्मचारी र अप्रत्यक्ष ढंगले लाभग्राही पनि ग्लोबल आइएमई बैंकसँग जोडिएका छन् । बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर हिस्सा भएका सेयरधनी (व्यक्ति, समूह, फर्म, कम्पनी)को संख्या २० मात्र छन् । बैंकमा उनीहरुभन्दा बाहेक नै तीन लाखभन्दा बढी सेयरधनी (साहु) छन् ।

बैंकमा अध्यक्ष ढकालसहित राधेश पन्त र रामबहादुर भण्डारी संस्थापक समूहबाट सञ्चालक छन् भने सर्वसाधारण समूहबाट कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल सञ्चालक समितिमा छन् । समितिमा स्वतन्त्र सञ्चालकबाट भागिरथी भट्टराई ज्ञवालीले प्रतिनिधित्व गर्छिन् । कुनै पनि पब्लिक कम्पनीमा प्रक्रिया पूरा गरेर कोही पनि सेयरधनी बैंकको सञ्चालक समितिमा पुग्न सक्ने हैसियतमा रहन्छ । त्यसकारण बैंकमाथिको प्रहार जोकसैलाई असह्य हुने गर्छ, हुनुपर्छ ।

अर्को तथ्य, ६ खर्ब ४ अर्बभन्दा बढी सम्पत्ति रहेको ग्लोबल आइएमई बैंकमा ५ खर्ब ४ अर्बभन्दा बढी संस्थागत एवं व्यक्तिगत निक्षेप संकलन भएको छ । त्यस्तै बैंकबाट सर्वसाधारणले ३ खर्ब ९० अर्बभन्दा बढी कर्जा लिएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये कुल निक्षेपमा ग्लोबल आइएमईको हिस्सा ८.७७ प्रतिशत छ भने कर्जा प्रवाहमा ८.५६ प्रतिशत छ । देशका ७७ वटै जिल्लामा पुग्न सफल बैंकका शाखा नै ३५४ वटा छन् । बैंकका शाखारहित केन्द्र २५५ वटा छन् भने ६८ वटा एक्सटेन्सन काउन्टर छन् । त्यस्तै बैंकका विदेशमा तीनवटा प्रतिनिधि कार्यालय छन् । यसको अर्थ, देश र विदेशमा गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेको बैंकको सञ्जाल असाध्यै ठूलो छ ।

बैंकमा निक्षेपकर्ताको संख्या नै ५० लाखभन्दा बढी छ । कर्जाका ग्राहक ८० हजारभन्दा बढी छन् । अन्तर्राष्ट्रिय करेस्पोन्डेन्ट बैंक संख्या १४२, क्यूआर टर्मिनल संख्या ६३ हजारभन्दा बढी, क्रेडिट कार्ड होल्डर १८ हजारभन्दा बढी, डेबिट कार्ड होल्डर १० लाखभन्दा बढी, पोस टर्मिनल संख्या १८ सयभन्दा धेरै र मोबाइल बैंकिङ प्रयोगकर्ता २२ लाखभन्दा बढी छन् । बैंकले आधुनिक प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेका कारण ठूलो संख्याका मानिस गोजीबाट नै बैंकिङ कारोबार गर्न समर्थ भएका छन् । ती सबैलाई बैंकको माया हुन्छ ।

बैंकले सर्वसाधारणको पैसा सुरक्षितमात्र गरेको छैन, कर्जा प्रवाह गरेर हजारौं मानिसलाई उद्यमी बनाएको छ । हजारौं उद्यमीलाई कर्जा सहयोग उपलब्ध गराएर व्यवसाय विस्तारमा टेवा पुर्‍याएको छ । बैंकले सबै जातजाति, धर्म र समुदायका ३७ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने हजारौंले अप्रत्यक्ष रोजगारी पाएका छन् । बैंकले कर्मचारीलाई सक्षम बनाउन कार्यक्षमता अभिवृद्धिमै ६ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा ७ करोडभन्दा बढी खर्च गरेको छ । यसबाट सामाजिक-आर्थिक लाभ पाएकाहरुले पनि त बैंकलाई आफ्नै सम्झिन्छन् ।

बैंक सबैको साझा सम्पत्ति हो । मूलतः समाजमा छरिएर रहेको सानो-सानो पुँजीलाई निक्षेपका रुपमा सुरक्षित ढंगले संकलन गर्ने र उद्योगी, व्यापारी, व्यवसायीका लागि कर्जा प्रवाहको माध्यम बनिदिने काम बैंकहरुले गरेका हुन्छन् । तिनै उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तु तथा सेवा फेरि हामी उपभोग गरिरहेका हुन्छौं । यो आर्थिक चक्रमा हामी सबै समावेश भइरहेका हुन्छौँ ।

ढकाल विशुद्ध व्यवसायी हुन् । हरेक व्यवसायीझैं उनले पनि व्यक्तिगत एवं सामाजिक लाभको क्षेत्र हेरेर लगानी गरिरहेका छन् । व्यावसायिक चरित्रकै कारण उनले उद्योग व्यवसाय विस्तारमा अप्रत्यासित फड्को मारेका छन् । उद्योग व्यवसाय एकपछि अर्को थप्दै लगेका छन्, २० हजारभन्दा बढी मानिसलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा अनावश्यक विवाद झिकेर विरोध गर्नु र त्यो विरोध व्यक्तिगत तहसम्म आइपुग्नु दुःखद् भएको अध्यक्ष ढकालले गुनासो गरेका छन् । विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न सम्पूर्ण राजनीतिक दल र सर्वसाधारणलाई उनले आग्रह पनि गरेका छन् ।

‘पाथीभरामा निर्माण हुने केबलकारले धर्मलाई नाश गर्छ भन्ने गलत प्रचार भइरहेको छ,’ उनले भने, ‘यसरी विकास निर्माणका काममा धर्म भजेर नकारात्मक प्रचार नगरौँ ।’ पवित्र उद्देश्यले काम गर्दा पनि आफूलाई बदनाम गराउन खोजिएको ढकाल बताउँछन् ।

नेपालको अर्थतन्त्रमा धार्मिक पर्यटनले ठूलो योगदान पुर्‍याउन सक्छ । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जानकी मन्दिरजस्ता धार्मिक स्थलमा बर्सेनि लाखौँ श्रद्धालु भक्तजन एवं पर्यटक पुग्ने गर्छन् । अहिले पाथीभरामा पनि बर्सेनि साढे तीन लाख हाराहारी पुगिरहेकोमा केबलकार निर्माणपछि दसौँ लाख पुग्ने आधार तयार हुन्छ ।

‘नो केबलकार’का नाममा राजनीतिक र धार्मिक रङ मिसाएर व्यक्ति र संस्थामाथि लगातार भइरहेको प्रहारले कसैलाई फाइदा गर्दैन । फेरि भन्छु- ग्लोबल आइएमई बैंक कुनै एक व्यक्तिको होइन, बैंकमा तीन लाखभन्दा बढी सेयरधनी छन्, लाखौँ बचतकर्ता छन्, हजारौँले रोजगारी पाएका छन् । त्यसकारण कुनै तार्किक मुद्दाबिना बैंकलाई कमजोर बनाउने ढंगले कोही पनि प्रस्तुत हुन हुँदैन ।

यो त्यही बैंक हो, जोसँग हजारौं, लाखौं नेपालीको भावना जोडिएको छ । बैंकविरुद्ध अनर्गल प्रचार र प्रहार गर्ने समूह तथा तिनका ‘लिडरहरु’ले मह जोडी प्रमुख भूमिकामा रहेको ‘हरिबहादुर मदनबहादुर’ हास्य टेलिशृंखलाको हरिबहादुरले जस्तो थेत्तरो शैलीमा ‘कुन बैंक ?’ भनेर प्रतिप्रश्न नगरुन् ।

प्रतिक्रिया दिनुहोस्