ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।
विशेषगरी पहिचानवादी ‘नो केबलकार’ पक्षलाई पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुनु विकासका दृष्टिले सबैभन्दा बढी ताप्लेजुङवासीलाई फाइदा हुनेभन्दै नगरपालिकाले अवरोध नगर्न आग्रह गरेको हो ।
सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहजगरी केबलकार निर्माणको काम गर्ने वातावरण बनाउनका लागि सबै पक्षलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा धार्मिक आस्थाको केन्द्र पवित्रस्थल भए पनि पवित्रतालाई सुरक्षा र संरक्षण गर्दै केबलकार बनाउनुपर्ने धारणा राखे ।
नगर प्रमुख मादेनले विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको बताउँदै केबलकार निर्माणमा सहयोग गर्न नो केबलकार पक्षधरलाई आग्रह गरे ।
उनले आउने पुस्ताको भविश्य सम्झेरै भए पनि विकास र विकसित प्रविधिको सदुपयोग साथै कार्यान्वयनमा अभिभावक वा अहिलेको पुस्ताले विशेष ध्यान दिनुपर्ने बताए।
केबलकारको विषयलाई लिएर सामाजिक सद्भाव भड्किँदै गएको र आपसी भातृत्व, भाइचारा, मित्रवत् सम्बन्धसमेत बिग्रिरहेको अवस्थामा पहिचानवादी नो केबलकार पक्ष र राज्य दुवै गम्भीर हुन पनि नगर प्रमुख मादेनले आग्रह गरे ।
आपसी द्वन्द्व निम्त्याएर कसैलाई फाइदा नहुने उल्लेख गर्दै उनले पाथीभराको महिमामाथि राजनीति गर्न नहुने बताए । पाथीभरा सबैको साझा धार्मिकस्थल भएको यसको महत्व, गरिमा र महिमालाई बचाउँदै केबलकार निर्णाण गनुपर्ने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा सहभागी नगरपालिकाका वडाध्यक्षहरु, ताप्लेजुङ उद्योग बाणिज्य संघ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासंघलगायत संघ संस्थाका प्रतिनिधिले पनि केबलकार निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।
केबलकारको विषयमा बढ्दै गएको द्वन्द्वले जिल्लाको व्यवसाय, पर्यटन क्षेत्र लगायतमा प्रत्यक्ष असर परिरहेकाले आपसी सहमतिका साथ केबलकार निर्माण गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।
यता केबलकार परियोजनाको प्रस्ताव आएदेखि नै विरोध गरिरहेको नो केबलकार पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतले धार्मिक मुन्धुमी आस्थामाथि अतिक्रमण भएकोभन्दै परियोजनाको विरोध गरिरहेको छ । विरोधका क्रममा केबलकार पक्ष र विपक्षबिच ढुंगा हानाहान, नो केबलकार पक्ष र प्रहरीबिच झडप, बन्द, हड्तालजस्ता गतिविधि भइरहेका छन् ।
यसैक्रममा पछिल्लो पटक गत माघ १२ गते केबलकारको पूर्वाधार निर्माणको काम सुरु भएपछि प्रहरी र नो केबलकार पक्षबिच झपड नै भएको थियो ।
झडपका क्रममा गोली चल्दा विरोध समूहका केही घाइते भएका छन् भने उनीहरुले प्रहार गरेको ढुंगामुढाले प्रहरीतर्फ पनि केही घाइते भएका थिए ।
यही घटनाका विषयलाई लिएर नो केबलकार पक्षले पूर्वमा यातायात बन्द आह्वान गरेका थिए । बन्दपछि सरकारले वार्ता समिति बनाई दुई पक्षबिच वार्ता भएर यातायात खुले पनि केबलकारका विषयमा सहमति हुन सकेको छैन ।
आइतबार मात्रै सरकार र नो केबलकार पक्षबिच भएको वार्ता बिना निस्कर्ष टुङ्गिएको छ । सरकार पक्षले सोमबार पुनः वार्तामा बसी सहमति खोज्ने जनाएको छ भने नो केबलकार पक्षले वार्तामार्फत निस्कर्ष निस्किने सम्भावना न्युन रहेकोभन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेगरी सोमबार नै दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पाथीभरामा चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो ।