सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्बभन्दा बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब रुपैयाँभन्दा बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका १० जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यान्न, फलफूल तथा खसीबोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यान्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलुलगायतका वस्तु निकासी हुने गरेका छन् ।
यी वस्तु बाँकेको नेपालगन्ज, बुटवल, चितवन, काठमाडौँ, पोखरा तथा कैलाली, कञ्चनपुरमा पुग्ने मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । उनका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा बर्सेनि करिब दुई अर्ब रुपैयाँ भित्रिने गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्र्याएको थियो भने गत आर्थिक वर्षमा करिब दुई अर्ब आम्दानी कृषि वस्तुबाट गरिएको उनले बताए ।
यसैगरी, पशुपन्छीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपन्छीअन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपन्छी निर्देशनालयले जनाएको छ ।
वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्यांक छ । यस्तै, दुध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज पनि निकासी हुने गरेको छ ।
दुधमा अनुदान दिएपछि उत्पादन वृद्धि
कर्णाली प्रदेश सरकारले दुध उत्पादक किसानलाई दुधमा अनुदान दिँदै आएको छ । माथिल्लो भेगका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले उत्पादन गर्ने दुधका लागि लिटरमा १० रुपैयाँ र तल्लो भेगका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दुधमा लिटरमा ५ रुपैयाँ अनुदान दिइँदै आएको छ । जसले गर्दा किसान पशुपालन व्यवसाय आकर्षित हुन थालेका छन् भने दुधको उत्पादनमा समेत वृद्धि भएको छ ।
अहिले कर्णालीमा खपत भएर पनि वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दुध निकासी हुने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता कठायतका अनुसार विगतमा माथिल्लो भेगमा पाउडर दुधको प्रयोग हुने गरेको थियो । ‘जब प्रदेश सरकारले दुधमा अनुदान दिन थाल्यो, अहिले दुध उत्पादनमा वृद्धि भएको छ, अब प्रदेश करिब दुधमा आत्मनिर्भर हुँदै गएको छ,’ उनले भने ।
प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याएको र व्यवसाय गर्ने किसानका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको कठायतले बताए । प्रदेश सरकारले व्यवसाय गर्ने किसानका लागि ब्याज अनुदानदेखि उत्कृष्ट किसान पहिचान गरी पुरस्कृतसमेत गर्ने गरेको छ ।