• Menu

कहाँका हुन् पाथीभरामा ‘नो केबलकार’ भन्दै विरोध गर्ने र काठमाडौंमा वार्तामा बस्नेहरु ?

नेपाल प्रफिट

२०८१ माघ २७, २१:३४

कहाँका हुन् पाथीभरामा ‘नो केबलकार’ भन्दै विरोध गर्ने र काठमाडौंमा वार्तामा बस्नेहरु ?

काठमाडौं । सरकारले वार्ताका लागि गठन गरेको ‘कर्मचारी स्तर’को टोलीसँग थप छलफल नगर्ने भन्दै विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएपछि गृहमन्त्री रमेश लेखकले नै ‘नो केबलकार समूह’सँग भोलि सोमबार वार्ता गर्ने भएका छन् ।

आइतबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि माइतीघरमा भेला भएका सो समूहका ‘लिडरहरु’ले ‘कर्मचारीस्तरको टोली अस्वीकार भएको’ र ‘मन्त्रीस्तरको टोलीसँग मात्र वार्ता गर्ने’ अन्यथा विरोधका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएपछि मन्त्री लेखक वार्ता गर्ने तयारीमा पुगेका हुन् ।

विरोध गर्ने समूहका ‘लिडरहरु’ले माइतीघरमा भेला भएर पाथीभरा (मुक्कुम्लुङ) केबलकारको विषय ‘राजनीतिक मुद्दा’ भएकाले कर्मचारीसँग नभई मन्त्री वा राजनीतिक उच्च टोलीसँग वार्ता गर्ने अन्यथा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाएका थिए ।

पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे ‘नो केबलकार’ पक्ष र सरकारबीच माघ २२ मा सहमति भएको थियो । त्यससँगै ‘नो केबलकार’ समूहले विरोधका कार्यक्रम स्थगित गरेको थियो । त्यही सहमतिअनुसार आज आइतबार भएको ‘विस्तृत वार्ता’ भने निष्कर्षमा पुग्न सकेन ।

माघ ८ देखि पाथीभरामा केबलकार बन्न थालेपछि ताप्लेजुङमा प्रदर्शन भएको थियो । प्रहरी र केही प्रदर्शनकारी घाइते भए । त्यसैको आडमा कोशी प्रदेशमा यातायात बन्द आह्वान गर्दै विरोध सुरु भयो । झापाको बिर्तामोडलाई लक्षित गरी विरोध र तोडफोड भइरहँदा ताप्लेजुङमा केबलकार निर्माणले निरन्तरता पाइरहेको थियो । आयोजना क्षेत्रका नागरिक भने केबलकारको विपक्षमा थिएनन् र छैनन् ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापनको गरिरहेको आइएमई ग्रुपले केबलकार निर्माणले समग्र कोशी प्रदेशकै आर्थिक विकास र जनताको उन्नतिमा सहयोग पुर्‍याउने तथ्यहरु पेस गरिरहँदा विरोधमा उत्रिने पक्ष भने त्यसलाई सुन्न नै तयार थिएन ।

आयोजना बन्दा सबैभन्दा बढी प्रत्यक्ष प्रभावित र लाभान्वित हुने ताप्लेजुङ जिल्लाकै बासिन्दा हुन् । तर, उनीहरु न आन्दोलनमा सहभागी छन् न त उनीहरुलाई बोल्न नै दिइएको छ । आयोजनास्थलमा पनि बाहिरकै मानिसहरु जाने र हुलहुज्जत गर्ने काम भइरहेको छ ।

‘नो केबलकार’ समूहले आइतबार पाथीभरामा केबलकार निर्माण गर्ने ‘राजनीतिक मुद्दा’ भएकाले कर्मचारीस्तरको वार्ता टोलीसँग कुरा नै नगर्ने भन्दै थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनुले पनि यसलाई स्पष्ट पार्छ । यसले विकास आयोजनालाई जबर्जस्त ढंगले राजनीतिक रंग दिने काम किन भइरहेको छ भनेर प्रश्न उब्जाएको छ ।

यो राजनीतिकरणले परियोजना निर्माण र स्थानीयको विकासको चाहनालाई छायाँमा पारेको छ । यतिसम्म कि काठमाडौंमा वार्ता गरिरहेको ‘नो केबलकार’ समूहको टोलीमा प्रभावित स्थलबाट कोही प्रतिनिधि नै छैनन् ।

को छन् त वार्ता टोलीमा ?

गृह मन्त्रालयले माघ २१ मा गठन गरेको सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको टोलीसँग ‘नो केबलकार’ समूहबाट आइतबार वार्ता गर्नेहरुमा आयोजना स्थलबाट एक जना पनि थिएनन् । को–को थिए त वार्ता टोलीमा र उनीहरु को हुन् ?

सरस्वती सिंघक (सरु) : माइती ताप्लेजुङ भएकी सरु लामो समय विदेश बसेर फर्किएकी हुन् । हाल उनी झापा बस्छिन् ।

यासेली योङहाङ : योङहाङ कलाकार हुन् । उनी मुन्धुमका जानकार मानिन्छन् । उनको घर पाँचथर हो ।

सूर्यविक्रम चेम्जोङ : चेम्जोङको घर धनकुटा हो । उनी जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् ।

खगेन्द्र माखिम : माखिम संघीय लिम्बुवान पार्टीमा सक्रिय छन् । तेह्रथुम घर भएका उनी पहिचानवादी नेताका रुपमा चिनिन्छन् ।

सन्तोष मेहता : सुनसरी घर भएका मेहता राजेन्द्र महतोको पार्टी राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध छन् ।

दिलकुमार लावती : लावतीको घर पाँचथर हो । उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सहसचिव हुन् ।

आङकाजी शेर्पा : जसपा नेता शेर्पाको घर सोलुखुम्बु हो ।

राजकुमार नाल्बो : नेपाल जनमुक्ति पार्टी (नेजपा)का नेता नाल्बोको घर ताप्लेजुङ हो । तर, उनी लामो समयदेखि काठमाडौंका बासिन्दा हुन् ।

रन्धोज  तम्लिङ : तम्लिङ पाँचथरका बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्