काठमाडौँ । प्रतिनिधसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ ।
पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलगायत समितिका सदस्यले आज खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्षको निरीक्षण गरेको हो ।
निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिंहले उक्त घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताए ।
‘उक्त घटनामा जनको क्षति नभए पनि धनको ठूलो क्षति भएको छ, यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङ परीक्षण गर्नुपर्ने आवश्यक देखिएको छ,’ उनले भने । शनिबार बिहान ८:४५ बजे लागेको आगोले उक्त मन्त्रालयको तीनवटा कोठा जलेका थिए भने ५० लाख बढी मूल्य बराबरका सामग्री जलेर नष्ट भएको सो मन्त्रालयले जनाएको छ ।