• Menu

पर्वतको मिलनचोक-लेखफाँट-शालिजा सडक स्तरोन्नति सुरु

नेपाल प्रफिट

२०८१ माघ २७, १४:३९

पर्वतको मिलनचोक-लेखफाँट-शालिजा सडक स्तरोन्नति सुरु

पर्वत ।  जलजला गाउँपालिकाको मिलनचोक-लेखफाँट-शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो ।

सडक स्तरोन्नतिका लागि चालु आिर्थक वर्षमा संघीय सरकारबाट थप तीन करोड बजेट विनियोजन भएको छ । यसअघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँच करोड १५ लाखमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो ।

जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको जलजला–६ शालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएसँगै शनिबार सडक डिभिजन कार्यालय पोखराका प्राविधिक फिल्डमा खटिएर नापजाँच गरिसकेका छन् । अबलगत्तै योजना अघि बढाउने तयारी भएको छ ।

चालु आवभित्रमै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएको पूर्वमन्त्री तथा सांसद पदम गिरीले जानकारी दिए । अहिले विनियोजन भएको बजेटले हुन नसकेको काम आगामी आवका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन पहल गर्ने उनले बताए ।

आगामी आवमा मिलनचोकबाट शालिजासम्मको सडक स्तरोन्नति योजना सम्पन्न गर्न आफूले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनको पहल गरेको उनको भनाइ छ ।

यो सडकको करिब दुई दशकअघि मार्ग खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका छन् ।

चालु आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति योजना अघि बढेकाले वडा नं ४ खोलाखेतबाट अगाडि सडक स्तरोन्नतिको काम सुरु गरिने वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए ।

कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण तथा आवतजावतमा सर्वसाधारणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएको क्षेत्रीले बताए ।

गण्डकी प्रदेश सरकारले मिलनचोक बजारबाट लुङ्गदी खोलाको मोटरेबल पुलसम्म एक किलोमिटर ५०० मिटर दूरीको सडक स्तरोन्नति गर्न एक करोड ७९ लाख विनियोजन गरेको थियो । उक्त बजेटबाट अहिले सडक स्तरोन्नतिको योजना सुरु भएको छ ।

बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आवका लागि प्रदेश सरकारले ७२ लाख विनियोजन गरेको छ । अहिले सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सडक निर्माणका लागि युग विल्डर्स एण्ड सप्लायर्स प्रालि पोखरासँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । बाँकी रहेको खोलाखेतबाट शालिजासम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्र गर्न आठ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत तथा ५ को रातामाटा र लेखफाँट, ६ को भोटेडाँडा, शालिजा र ठोटनेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्