काठमाडौं । अपी पावर कम्पनीले खुद नाफामा उच्च वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरणअनुसार ६ महिनामा अपीले ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
कम्पनीको नाफा समीक्षा अवधिमा उच्च दरमा बढेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको खुद नाफा पनि बढको हो ।
चालु आवको पुससम्ममा कम्पनीको सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ जबकि गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको कुल नाफा ३३.६६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा २२९.११ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीले ७१ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको पुससम्म कम्पनीको नाफा ५३ करोड १८ लाख रुपैयाँ थियो ।
अपी पावरको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ५५ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पाँच गुणा बढेर २.७५ रुपैयाँबाट १०.२६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ छ ।