• Menu

खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन

नेपाल प्रफिट

२०८१ माघ २५, शुक्रबार १७:२५

खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । संघीय संसद्  अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै सञ्चालन गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले समयमै प्रतियोगिता सञ्चालन गर्न ‘फास्ट ट्र्याक’मा काम गर्न निर्देशन दिए । उनले आफूहरूको चाहना समयमै प्रतियोगिता होस् भन्ने रहेको बताए ।

‘समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद सञ्चालन गर्न कसरी फास्ट ट्र्याकमा लैजान सकिन्छ, त्यो गर्नूस् । विधिसम्मत समयमै गर्नूस्,’ सभापति थापाले भने ।

दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो ।

तर तोकिएको समयमा प्रतियोगिता नहुने निश्चित भएपछि आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी समय निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्