काठमाडौँ । नेपाल राष्ट्रबाट स्वीकृतिप्राप्त चारै वर्गका बैंक तथा वित्तीय संस्थाका व्यवस्थापकहरुले एक बैंक वित्तीय संस्थाहरुप्रतिको भ्रामक अभिव्यक्ति अस्वीकार्य भएको बताएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाका अराजक गतिविधि रोक्न सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।
‘यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा यी संघहरुसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दति खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको स्मरण गराइएको छ ।
सामाजिक सञ्जालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन तथा सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना एवं समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन पनि विज्ञप्तिमार्फत सर्वसाधारणमा अपिल गरिएको छ ।
‘साथै आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्नसमेत सरकारी निकायहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र नीति नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्र पारदर्शीमात्र नभई सुपरिवेक्षणीय दृष्टिले समेत अब्बल रहेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (बासललगायत) का व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । ‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्न सहजताका लागि आइएमई समूहले केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि अराजक समूहहरुले आइएमई समूहले सञ्चालन गरेका ग्लोबल आइएमई बैंकलगायतका वित्तीय संस्थाका बारेमा नकारात्मक प्रचार फैलाइरहेका छन् ।