काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको अध्यक्षमा लक्ष्मण शर्मा निर्वचित भएका छन् । समितिको बुधबार सम्पन्न छैटौं अधिवेशनले शर्मालाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो ।
शर्मा यसअघि काठमाडौं जिल्ला समितिको सचिव थिए । २०७८ पुस २७ गते सम्पन्न पाँचौँ अधिवेशनबाट सचिव चयन भएका उनी संगठनमा रहेर निर्वाह गरेको अब्बल भूमिकाका कारण अध्यक्ष बन्न सफल भएका हुन् ।
अधिवेशनले शर्माको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रविण रिजाल, समावेशी उपाध्यक्षमा शुभद्रा धिताल, सचिवमा श्रीकृष्ण ढकाल, सहसचिवमा उत्सव बजगाईं, समावेशी सहसचिवमा राजु नापित र कोषाध्यक्षमा कमल पन्थी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, रामकुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरिप्रसाद सिग्देल, सुजन मैनाली, कृष्णप्रसाद हुमागाईं, सुशन भट्टराई र श्रीकृष्ण बस्नेत चयन भएका छन् ।
अध्यक्ष चयन भएपछि शर्माले प्रेस चौतारी नेपाल पत्रकार तथा सञ्चारकर्मी साथीहरुको व्यावसायिक मर्यादालाई उँचो राख्न तथा पत्रकारिताको गरिमालाई थप बलियो बनाउन विगतमा झैँ कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।
‘मलाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिनुभएको छ, इमानदारीपूर्वक त्यसको निर्वहन गर्नेछु,’ उनले भने, ‘हामी पूरा टिम एक भएर पत्रकार र पत्रकारिताको गरिमालाई माथि उठाउन लागि पर्नेछौँ ।’
शर्माले हरेक संगठनको नेतृत्व एक जनाले लिने लोकतान्त्रिक परिपाटीको अभ्यास स्वरुप आफू अध्यक्ष भए पनि टिमको स्पिरिट र पदाधिकारी एवं कार्यसमितिका सम्पूर्ण सदस्यहरुको साझा धारणामा संगठनलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
त्यस्तै पत्रकारिता क्षेत्रकै गुणस्तरीयता र विश्वसनीयता बढाउने गरी प्रेस चौतारी नेपाल, काठमाडौं जिल्ला समितिमा आबद्ध पत्रकार साथीहरुको क्षमता अभिवृद्धि हुने खालका तालिम तथा कार्यक्रम सञ्चालन गर्ने उद्घोष पनि उनले गरेका छन् ।
काठमाडौं जिल्ला समितिको नेतृत्व गर्ने अवसर दिलाउने प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षसहित पदाधिकारी र सदस्यहरु, प्रदेशका अध्यक्षसहित पदाधिकारी र सदस्यहरु एवं जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरुप्रति शर्माले आधार व्यक्त गरेका छन् ।