• Menu

नागढुंगा सुरुङमार्ग धमाधम फिनिसिङ हुँदै, आयोजना अन्तिम चरणमा

नेपाल प्रफिट

२०८१ माघ २३, बुधबार १५:५०

नागढुंगा सुरुङमार्ग धमाधम फिनिसिङ हुँदै, आयोजना अन्तिम चरणमा
सुरुङमार्गको डिजाइन

काठमाडौं । नागढुंगा सुरुङमार्ग आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका भित्रिने सवारीसाधनको सहजीकरणका लागि निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो ।

आयोजनाले सार्वजनिक गरेको तथ्यांकअनुसार भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ । आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार अहिले धमाधम फिनिसिङको काम भइरहेको छ ।

आयोजनाअन्तर्गत सुरुङ ब्रेक थ्रु भएपछि अरु कामले पनि तीव्रता पाएको हो । उनका अनुसार अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको कामसमेत सकिएको छ ।

आयोजनाअन्तर्गत तीनवटा पुल बनिसकेका छन् भने फ्लाइओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । टनेलभित्र धमाधम फिनिसिङको काम भइरहेको छ । मेन टनेलको ब्रेक थ्रु २०२४ अप्रिल १५ मा र उद्धार टनेलको ब्रेक थ्रु २०२३ अगस्ट ७ मा भएको थियो ।

सन् २०१४ मा अध्ययन भएको यो आयोजना सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइन थालिएको हो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ ।

जापान सरकारको सहयोगमा डिजाइन भएको नागढुंगा सुरुङमार्ग साढे १३ अर्ब रुपैयाँमा ठेक्का लागेको हो । सुरुङमार्ग र पहुँचमार्गसमेत गरी आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँभन्दा माथि छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको प्रवेश द्वारनजिकै फ्लाइओभर बनाइएको छ । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो छ ।

प्रतिक्रिया दिनुहोस्