काठमाडौं । ‘नो केबलकार’ समूह र सरकारी वार्ता टोलीबीच प्रारम्भिक सहमति भएको छ । पहिलो चरणको वार्ता सकारात्मक भएपछि संघर्ष समितिले कोशी प्रदेशमा जारी राखेको अनिश्चितकालीन यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति र सरकारी वार्ता टोली बीच आज छलफल तथा प्रारम्भिक सहमति भएको हो ।
वार्ताका क्रममा ६ बुँदे प्रारम्भिक सहमति भएको छ । सहमति पत्रमा संघर्षरत समूहका तर्फबाट सरस्वता ‘सिंगक (सरु) र सरकारी वार्ता टोलीका संयोजक सहसिचव प्रेमप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।
सहमतिका बुँदा-
१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने ।
२. सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।
५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।
६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार
आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११:०० बजे वार्तामा बस्ने ।