काठमाडौँ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका क्रममा देखिएको विवाद समाधानका लागि सरकारले गठन गरेको समितिसँग वार्ता गर्न ‘नो केबलकार’ समूह तयार भएको छ ।
निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयले आइतबार वार्ता टोली बनाएपछि संघर्षरत समूहले पनि समिति गठन गरेको हो ।
संघर्षरत समूहहरुका तर्फबाट प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको छ ।
सरकारको तर्फबाट गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राकेश गुरुङ र सहरी विकास मन्त्रालयका डिभजनल इन्जिनियर झपटसिंह विश्वकर्मा सदस्य छन् ।
मन्त्रालयले आन्दोलनरत पक्षलाई संघर्षका कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधानमा सहयोगका लागि अपिल गरेको थियो ।