• Menu

रोजगारीका लागि बिदेसिनेको संख्या बढ्दै, रेमिट्यान्स आप्रवाह वृद्धिदर भने जम्मा ४ प्रतिशत

नेपाल प्रफिट

२०८१ माघ २०, २०:५७

रोजगारीका लागि बिदेसिनेको संख्या बढ्दै, रेमिट्यान्स आप्रवाह वृद्धिदर भने जम्मा ४ प्रतिशत

काठमाडौं । विदेश गएका नेपालीले पठाएको रकम बढ्ने क्रम सुस्ताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्ममा विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको हो ।

रेमिट्यान्स आप्रवाह ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गत वर्ष १९.५ प्रतिशतले बढेको थियो ।

त्यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ छ । गत वर्ष साउनदेखि पुससम्ममा २ लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ३३ हजार ९४० जनाले पुन: श्रमस्वीकृति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्