• Menu

बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन, ३० करोड आइएमई समूहको लगानी

नेपाल प्रफिट

२०८१ माघ २०, १०:१०

बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन, ३० करोड आइएमई समूहको लगानी

बागलुङ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक भव्य समारोहमा इला कम्फोर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गरे । उद्घाटन समारोहमा मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए ।

त्यस्तै गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गरे । ‘अध्यक्ष ढकालले मुलुकका सातवटै प्रदेशसहित विभिन्न ठाउँमा पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै हुनुहुन्छ । कुनै-कुनै ठाउँमा केही अवरोध भएको सुनिएको छ,’ उनले भने, ‘यदि त्यस्तो हो भने तपाईं आफ्नो लगानी लिएर हाम्रो गण्डकी प्रदेशमा आउनुस् । हामी गण्डकीका जनता थप पर्यटकीय पूर्वाधार निर्माण गर्न तपाईंलाई स्वागत गर्दछौँ ।’

आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा बिदेसिन बाध्य लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केबलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको उनले बताए ।

‘पर्यटन र जलविद्युत क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्‍याउने भएकाले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौँ,’ उनले भने । इला कम्फोर्ट होटलले पर्यटक तथा अन्य पाहुनाका लागि स्तरीय सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता उनले जनाए । यसबाट कालिगण्डकी करिडोरमार्फत भारतको सुनौली तथा चीनसँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने भारत तथा चीनका पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने ढकालको विश्वास छ ।

कार्यक्रममा संघीय सांसदहरु दिपक गिरि, जीवन परियार, बागलुङ नगरपालिका प्रमुख वसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरे ।

करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटलले  बागलुङमा स्तरीय आवासका लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको इला कम्फोर्टमा २७ अतिथि कक्ष, दुई सुन्दर स्विट रुम र एक विशेष पेन्ट हाउससहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठा छन् । प्रत्येक आवासलाई परम्परागत आतिथ्यभन्दा नयाँ ढंगले असाधारण अनुभव महसुस हुने गरी तयार पारिएको छ ।

इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एन्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्डमात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताएका छन् ।

पोखरा विमानस्थलबाट डेढ घण्टाको दूरीमा अवस्थित, पोखरा र बागलुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकाले, होटल आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुका लागि सुविधाजनक पहुँचमा छ ।

इला कम्फर्ट बागलुङले ब्रान्डको इला ब्रान्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ । नवलपरासीको गैंडाकोटमा इला होटल सुरु गर्ने तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्