• Menu

पाथीभरामा केबलकार बन्दा पहिचान नष्ट हुँदैन, प्रवर्धन हुन्छ, लाखौँ पर्यटक भित्रिन्छन्, ताप्लेजुङ समृद्ध हुन्छ : भट्टराई

नेपाल प्रफिट

२०८१ माघ १६, बुधबार १३:५६

पाथीभरामा केबलकार बन्दा पहिचान नष्ट हुँदैन, प्रवर्धन हुन्छ, लाखौँ पर्यटक भित्रिन्छन्, ताप्लेजुङ समृद्ध हुन्छ : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पनि पहिचान नष्ट नहुने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सबै आफूले हेरेको र यसले पाथीभराको महिमालाई अझै फैलाउने स्पष्ट पारे ।

‘यहाँ धेरै भ्रम फैलाइएको छ । केबलकार कान्छिथान माथिबाट लैजाने, पाथीभराको डाँडामा नै पुर्‍याउने जस्ता भ्रम फैलाइएको छ तर त्यस्तो अवस्था होइन,’ उनले भने, ‘कान्छिथानभन्दा १–२ सय मिटर परबाट केबलकार जान्छ र पाथीभराभन्दा ७–८ सय मिटर तल टप स्टेसन बन्छ ।’

उनले पाथीभरामा केबलकार निर्माण भए सबैलाई फाइदा हुने भएकाले आन्दोलनको साटो वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखे । हाल ३ लाख हाराहारी पर्यटकले बेर्सेनि पाथीभरामाताको दर्शन गरिरहेकोमा केवलकार बनेपछि १० लाखभन्दा बढी पर्यटक पुग्ने उनको आकलन छ ।

‘यसबाट ताप्लेजुङबासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ,’ सांसद भट्टराईले भने । पाथीभरामा हाल भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहारलगायत स्थानबाट पनि पर्यटक भित्रिने गरेका छन् ।

पत्रकार सम्मेलनमा सांसद भट्टराईले जे भने-

१. संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पूरा गरेर पाथीभरादेवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो ।

२. ताप्लेजुङमा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधि केबलकर बन्नुपर्छ भन्ने पक्षमा छन् ।

३. केबलकार निर्माण पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना हुन पुग्यो ।

४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो ।

५. जहाँ बर्सेनि नेपालका विभिन्न जिल्ला एवं भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहारलगायत क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु दशनार्थी आउने गरेका छन् ।

६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष करिब ३ लाख तीर्थालु र पर्यटकले पाथीभरा भ्रमण गरेका थिए भने बर्सेनि यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ ।

७. पाथीभरालाई शक्तिको प्रतीक देवीको रुपमा बुझिन्छ । खस, आर्य, लिम्बू, राई (किराँत), गुरुङ, तामाङ शेर्पा, मगर, नेवारलगायतका सबै जात र विशेष गरी हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीले समान रुपले आस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा ।

८. ताप्लेजुङ जिल्लाको आर्थिक समृद्धिको आधार जलस्रोत, पर्यटन र कृषि हो । तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर ताप्लेजुङबासीको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीको साझा धारणा छ ।

९. भौगोलिक रुपले विकट ठाउँमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस्, वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएकालाई समेत सहज होस् भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेमा दुईमत छैन ।

१०. केबलकार निर्माण र पाथीभराको महिमाको प्रचारप्रसारबाट वर्षमा १० लाखसम्म तीर्थालु र पर्यटक पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङबासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास छ ।

११. निर्माण कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकार सञ्चालनले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन । पवित्र कान्छी थानभन्दा केबलकार करिब २ सय मिटर दूरीमा छ । पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटरबाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन । रुख तथा पोल गरेर २ हजार ११२ वटा कटान हुनेछ । बाहिर प्रचार गरिएजस्तो २५ हजार रुख काटिने हल्लामा कुनै सत्यता छैन ।

१२. ताप्लेजुङमा निर्माण हुने केबलकार वा जलविद्युत आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोबास गर्ने महानुभाव तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइले राख्नुभएको चासो र चिन्ताको हामी सम्मान गर्दछौँ । र, धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीको आमसहमतिमा जिल्लामा गर्नुपर्ने विकास निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु ।

१३. २०८१ माघ १२ को घटनाप्रति दु:ख व्यक्त गर्छु । त्यस क्रममा घाइते भएका प्रहरी निरीक्षकलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, घाइतेहरुको प्रभावकारी उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारसँग माग गर्दछु ।

१४. पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिको जगेर्ना र सम्वर्धनका लागि मुकुम्लुङ पार्क तथा संग्रहालय निर्माण तथा धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलाप अघि बढाउन माग गर्दछु ।

१५. लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनुपर्छ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्छ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्ति रिहा गर्न र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन माग गर्दै अविलम्ब वार्ता गरी समस्या समाधान गर्न माग गर्दछु ।

१६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजस्व, स्थानीय करलगायतका आर्थिक कोष  परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै, केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउनुपर्छ ।

१७. केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपांगता भएकाहरुका लागि नि:शुल्क सेवा दिने घोषणा गर्नुपर्छ । प्रभावित क्षेत्रका नागरिकलाई सुलभ सेयरको व्यवस्था गर्नुपर्छ । रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्छ । केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ । स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्छ ।

१८ पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्या हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मुख्यमन्त्रीले लिनुभएको तत्परताप्रति धन्यवाद व्यक्त गर्दछु । कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु ।

१९. ताप्लेजुङको समग्र विकासमा एकताबद्ध रुपले अघि बढ्न सबै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यका लागि सम्बद्ध सबैमा अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्