• Menu

करदाताको संख्या साढे चार वर्षमै दोब्बर, ३६ लाख ८७ हजारबाट ७० लाख ३६ हजार पुग्यो

नेपाल प्रफिट

२०८१ माघ १६, बुधबार ११:४१

करदाताको संख्या साढे चार वर्षमै दोब्बर, ३६ लाख ८७ हजारबाट ७० लाख ३६ हजार पुग्यो

काठमाडौँ । निजी संस्थामा कार्यरत कर्मचारीको तलबभत्ता वितरणलाई व्यवस्थित बनाउने सरकारको प्रयास र सचेतना अभिवृद्धिका कारण करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तलबभत्ता वितरण बैंकमार्फत हुनुपर्ने र स्थायी लेखा नम्बर (पान) अनिवार्य गरिएपछि करदाताको संख्या साढे चार वर्षमा दोब्बर भएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक २०७६/७७ सम्म ३६ लाख ८७ हजार ७४७ रहेको करदाताको संख्या चालु आव २०८१/८२ को पुस मसान्तसम्ममा ७० लाख ३६ हजार ६८३ पुगेको छ । साढे चार वर्षको अवधिमा करदाताको संख्या ३३ लाख ४८ हजार ९३६ ले बढेको हो ।

समीक्षा अवधिमा सबैभन्दा धेरै व्यक्तिगत पान लिनेको संख्या बढेको छ । साढे चार वर्षको अवधिमा व्यक्तिगत पान लिनेको संख्या १९ लाख ७३ हजार ४५२ बाट बढेर ४५ लाख ४८ हजार ३२३ पुगेको छ ।

त्यस्तै व्यावसायिक पान लिनेको संख्या १३ लाख ५८ हजार ९३४ बाट बढेर १९ लाख ९३ हजार ७२४ पुगेको छ । यो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनेको संख्या पनि उल्लेख्य बढेको छ । भ्याटमा दर्ता हुनेको संख्या २ लाख ५५ हजार ९६३ बजार बढेर ३ लाख ३८ हजार ३१६ पुगेको विभागले जनाएको छ । तर, भ्याटमा दर्ता भएका १ लाखभन्दा बढी व्यवसाय निष्क्रिय छ ।

विभागका महानिर्देशक रामप्रसाद आचार्यका अनुसार भ्याटमा दर्ता भएर निष्क्रिय बसेका अकाउन्टको संख्या ३० प्रतिशतभन्दा धेरै छ । ‘विवरण अद्यावधिक नगर्नेहरुको संख्या ठूलो छ,’ उनले भने, ‘त्यसलाई कम गर्ने अधिकतम प्रयासमा हामी छौँ ।’ विभागको तथ्यांकअनुसार भ्याटमा दर्ता भएका साढे ३ लाखमध्ये १ लाखभन्दा बढी व्यवसायी निष्क्रिय छन् ।

त्यस्तै विवरण नबुझाउने तर भुक्तानी दिँदा कर कट्टी गरेर भुक्तानी बुझाउनुपर्ने खालका अर्थात् सरकारी निकायले लिने विथ होल्डर प्यानको संख्या ५ हजार १०६ बाट बढेर ३४ हजार ६३८ पुगेको छ । विभागका अनुसार अन्त:शुल्क इजाजत लिनेको संख्या ९४ हजार २९२ बाट बढेर १ लाख २१ हजार ६८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्