काठमाडौं । अमेरिकाले स्थगित गरेका आयोजनाको दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले सम्बद्ध सबै निकायलाई सूचित गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले सोमबार विज्ञप्ति जारी गरी अमेरिकाले स्थगित गरेका आयोजनाअन्तर्गत अमेरिकी सहयोग नियोग (यूएसएड) स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै निकायलाई जानकारी गराएका हुन् ।
अमेरिकाले यूएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका (अन-बजेट अन-ट्रेजरी) चारवटा आयोजनाहरु कार्यान्वयनमा ९० दिनका लागि रोक लगाएको छ ।
यूएसएड नेपालले आइतबार एक पत्र पठाएर यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ आयोजना, यूएसएड कृषि डाइरेक्ट फाइनान्सिङ आयोजना, यूएसएड एजुकेसन डाइरेक्ट फाइनान्सिङ आयोजना र यूएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ आयोजनामा प्राप्त अनुदान सहयोग स्थागित भएको जानकारी गराएको अर्थ मन्त्रालयका प्रवक्ता भट्टराईले जनाएका छन् ।