• Menu

बहुउद्देश्यीयद्वारा सञ्चालित १० कम्पनीको २० करोड राजस्व उठ्न बाँकी

नेपाल प्रफिट

२०८१ माघ १४, १६:५०

बहुउद्देश्यीयद्वारा सञ्चालित १० कम्पनीको २० करोड राजस्व उठ्न बाँकी

चितवन । भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ । दूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौवटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् ।

ती कम्पनीको १९ करोड ८८ लाख राजस्व बक्यौता रहेको छ । १० लाखभन्दा बढी राजस्व बुझाउनुपर्ने भएपछि कार्यालयले राजस्व विभागमा पत्राचार गरेको छ । कार्यालयका कर अधिकृत युवराज खड्काका अनुसार ती कम्पनीको राजस्व उठाउने विषयमा माघ पहिलो साता विभागलाई पत्राचार गरिएको हो । पटक-पटक ताकेता गर्दा पनि सञ्चालक सम्पर्कमा नआएपछि विभागलाई पत्राचार गरिएको हो ।

चिनियाँ नागरिकले सञ्चालन गरेको चाइना सिचुवान इन्टरनेसनल कर्पोरेसन कम्पनीले १९ लाख आयकर बुझाउन बाँकी छ । अन्य नौवटा भारतीय नागरिकद्वारा सञ्चालित कम्पनीले १९ करोड ६९ लाख राजस्व बुझाउन बाँकी छ ।

जसमध्ये पाँच करोड ६२ लाख मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको हो भने १४ करोड ६ लाख राजस्व आयकरतर्फको रहेको खड्काले जानकारी दिए । दैनिक रूपमा जरिवाना र ब्याज बढ्ने हुँदा दिनानुदिन रकम थपिँदै गएको छ । विदेशी नागरिकले यहाँ कम्पनी दर्ता गरेर काम गर्दा पासपोर्ट, राजदूतावासबाट ल्याइएको पत्र र केही रकम धरौटी राखेर काम गर्ने गर्छन् ।

उनीहरूको अचल सम्पत्ति पनि यहाँ नहुने र कतिपयले बैंकिङ कारोबार पनि नगर्ने गर्दा राजस्व उठाउन कठिन भएको उनले जानकारी दिए । खड्काका अनुसार बक्यौता असुल गर्न कठिन भएपछि विभागसँग आवश्यक निर्देशन मागिएको हो । यस्ता कम्पनीहरू अधिकांश कबाडी संकलन गर्ने रहेका छन् ।

दशवटा कम्पनीमध्ये सबैभन्दा बढीनवदुर्गा ट्रेडर्सले १४ करोड ६८ लाख ५५ हजार तीन सय ४५ राजस्व बुझाउन बाँकी रहेको छ । भारतीय नागरिक विजली चौधरीका नाममा रहेको सो कम्पनीले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ को आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) रकम राजस्व बुझाउन बाँकी रहेको हो ।

कार्यालयका कर अधिकृत खड्काका अनुसार भ्याटबाट चार करोड १५ लाख ५६ हजार दुई सय १६ र आयकरतर्फ १० करोड ५२ लाख ९९ हजार ९९ राजस्व बुझाउनुपर्ने हुन्छ । उनका अनुसार नक्कली बीजक सम्बन्धमा कार्यालयले अनुसन्धान गरी सो रकम बराबरको राजस्व तिर्न बाँकी रहेको देखिएको हो । यस कम्पनीलाई आन्तरिक राजस्व विभागले २०८१ साल वैशाख ३० गते कर निर्धारण गरेको थियो । जसमध्ये अहिलेसम्म दुई लाख मात्रै बुझाएको खड्काले जानकारी दिए ।

कार्यालयले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ मा ६८ जना करदातालाई नक्कली बीजकमा अनुसन्धान गरेको थियो । उनीहरूबाट एक अर्ब २१ करोडभन्दा बढी राजस्व उठाउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्