काठमाडौँ । जोगवनी नाकादेखि संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । संखुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने १५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएको हो ।
खाँदबारी-किमाथांका सडकअन्तर्गत च्याम्ताङदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएपछि आज सोमबार संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको छ ।
सडकको ‘ब्रेक थ्रु’का लागि भोटखोला गाउँपालिका–१ च्याम्ताङमा संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पुगेका थिए । अब भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।
कार्यक्रममा मन्त्री खड्काले खाँदबारी-किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीनका साथै बंगलादेशले पनि फाइदा लिनसक्ने उल्लेख गरे ।
सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए । किमाथांका क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काले बताए । ‘यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने हुँदा यो शीघ्र सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । उनले समयअगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए । मन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । बाँकी काम चाँडो सम्पन्न गर्न उनले सेनालाई निर्देशन दिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उनले बताए ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे । ‘सडक ब्रेक थ्रुसँगै भोटखोला, संखुवासभा र सिंगो मुलुकका लागि सुनौलो दिनको सुरुवात भएको छ,’ उनले भने ।
कार्यक्रममा नेपाली सेनाले आफूले गरेको कामको प्रगतिबारे जानकारी गराएको थियो । सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेकाले बजेट सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने जनाएको छ ।