• Menu

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ सम्म, मुख्य आकर्षण सफ्टवेयर एन्ड एआई प्रोजेक्ट

नेपाल प्रफिट

२०८१ माघ १४, १६:२७

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ सम्म, मुख्य आकर्षण सफ्टवेयर एन्ड एआई प्रोजेक्ट

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको चेम्बर एक्स्पो २०२५ काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एन्ड एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रवर्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालले बताए । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आकर्षणका रुपमा यो वर्ष सफ्टवेयर एन्ड एआई प्रोजेक्ट स्टलका रुपमा रहनु सबैभन्दा महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तराष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

त्यस्तै व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी प्रमुख शरदविक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्ने बताए ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले धारणा राखे ।

चेम्बर अफ कमर्सको सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यसपटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।

विगतमा झैँ यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, लजिस्टिक्स, टेक्सटाइल, फर्निचर, गार्मेन्ट्स, छालाका उत्पादनहरु, ज्वेलरी, सौन्दर्य सामग्री तथा दुग्ध पदार्थ आदि सामग्रीको प्रदर्शनीले आगन्तुकका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशका व्यवसायीले पनि सहभागिता जनाउनेछन् ।

स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल एक्स्पोमा रहनेछन् । पाँच दिनसम्म चल्ने एक्स्पोको कम्तीमा ५० हजारले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले अपेक्षा गरे ।

चेम्बर मेलामा ब्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वर्ल्ड लिंक तथा एजुकेसन पार्टनरका रुपमा सफ्टवेरिका कलेज र सनवे कलेज रहेका छन् । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्