• Menu

घुन्सा खोला आयोजनालाई जुट्यो पैसा, लक्ष्मी सनराइजको नेतृत्वमा पाँच संस्थाको १२ अर्ब ७० करोड लगानी

नेपाल प्रफिट

२०८१ माघ १४, १०:४२

घुन्सा खोला आयोजनालाई जुट्यो पैसा, लक्ष्मी सनराइजको नेतृत्वमा पाँच संस्थाको १२ अर्ब ७० करोड लगानी

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।

आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले पाँच अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले तीन अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, माछापुच्छ्रे बैंकले एक अर्ब ४५ करोड र एभरेष्ट बैंकले एक अर्ब २५ करोड लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ ।आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित १८ अर्ब १३ करोड छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ ।

स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत छ ।

कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ ।

यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । आयोजना निर्माण सुरु भएको चार वर्षमासम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युतगृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्