• Menu

भन्सारका उच्च र धेरै प्रकारका दरहरुले चोरीपैठारी र राजस्व जोखिम बढाएको छ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ माघ १३, १७:४०

भन्सारका उच्च र धेरै प्रकारका दरहरुले चोरीपैठारी र राजस्व जोखिम बढाएको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुकूल व्यावसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् । ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनुभन्दा स्वच्छ व्यवसायमैत्री वातावरण सिर्जना गर्नेतर्फ सरकारका क्रियाकलाप केन्द्रित भएमा व्यवसाय र राजस्व दुवै बढ्ने धारणा राखेका हुन् ।

‘व्यापार सहजीकरण, स्वच्छ र निष्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षण गर्ने मुख्य उद्देश्य लिएर हिँडेको हाम्रो भन्सार प्रशासनले व्यवहारमा राजस्व संकलनलाई उच्च महत्व दिएको अवस्था छ । तर मुलुकको समग्र विकासका लागि व्यापार सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु मुलुकको दीर्घकालीन हितका लागि श्रेयस्कर हुन्छ,’ उनले भने ।

वैध व्यापार प्रोत्साहित गरी अवैध व्यापार नियन्त्रण गर्न वैदेशिक व्यापार हुने मुख्य देशहरुसँग द्विपक्षीय सम्झौता गरी स्वचालित डाटा आदानप्रदान गर्न सकेको खण्डमा पनि भन्सार कार्यालयमा आउने न्यून तथा अधिक विजकीकरण, वर्गीकरणलगायतका समस्या धेरै हदसम्म न्यूनीकरण गर्न सकिने उनले बताए ।

ठूलो मात्रामा व्यापार हुने छिमेकी मुलुकसँगको खुला सिमाना, आयातमुखी राजस्व संरचना, स्वदेशी उद्योगको संरक्षणका लागि सरकारले लगाएका भन्सारका उच्च र धेरै प्रकारका दरहरुले चोरी पैठारी र राजस्व जोखिमलाई बढाइरहेको हुनाले यसको न्यूनीकरणका लागि नीतिगत रुपमै सम्बोधन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ ।

एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि भन्सारसम्बन्धी अन्य धेरै निकायबाट जारी हुने सिफारिस, अनुमतिलगायतका प्रमाणपत्रहरु स्वचालित रुपमा हुने गरेको र यसले आयात–निर्यात धेरै सहज भएको उनले उल्लेख गरे । निकासीका लागि आवश्यक पर्ने उत्पत्तिको प्रमाणपत्रलाई पनि एकद्वार प्रणालीमा आबद्ध गर्न भन्सार विभागले आवश्यक पहल गर्न उनले आग्रह गरे ।

प्रविधिसँगै भौतिक पूर्वाधारहरुको पनि व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै उनले निर्माणाधीन आईसीपीहरुको शीघ्र निर्माण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाहरुको स्थापना र विस्तारमा समयमै ध्यान दिनसमेत सरकारलाई आग्रह गरे ।

अध्यक्ष ढकालले सार्वजनिक सेवा प्रवाह र लगानी अभिवृद्धि गर्ने वातावरण निर्माणका लागि अध्यादेशबाट एकमुष्ट दुई दर्जनभन्दा बढी कानुनहरुमा भएको संशोधनले मुलुकमा सकारात्मक व्यावसायिक वातावरण बनिरहेको अनुभूति निजी क्षेत्रले गरेको बताए ।

महासंघले चालु आर्थिक वर्षको बजेट तर्जुमाको क्रममा छुट्टै भन्सार महसुल ऐन, भन्सार जाँचपास परीक्षणको समय सीमालगायतका भन्सारसम्बन्धी धेरै सुझाव दिएको स्मरण गराए । अध्यक्ष ढकालले महासंघले उठाएका केही विषय सम्बोधन भए पनि अन्य थुप्रै विषय थाँती रहेकाले आउने दिनमा ती विषय पनि सम्बोधन हुने विश्वास व्यक्त गरे ।

७३ वर्षअघि विश्व भन्सार परिषदको पहिलो सम्मेलन भएको सम्झनामा आजको दिन (जनवरी २६ लाई) लाई विश्व भन्सार संगठनका सबै सदस्य राष्ट्रहरुमा विभिन्न कार्यक्रम आयोजना गरी यो ऐतिहासिक अवसरलाई स्मरण गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्