काठमाडौँ । विद्युतीय सवारी साधन (ईभी) मा उपभोक्ताको छनोट फेरिएको पाइएको छ । गत वर्ष २०८०/८१ सम्म ५० किलोवाटसम्मका ईभीमा रुचि देखाएका उपभोक्ताले यो वर्षदेखि ५१ देखि २०० किलोवाटसम्मका ईभी रोज्न थालेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा ५० किलोवाटसम्ममा ईभीको आयात घटेको छ भने ५१ देखि १०० किलोवाट र १०१ देखि २०० किलोवाटसम्मका ईभीको आयात बढेको छ ।
गत वर्ष साउनदेखि पुससम्ममा ५० किलोवाटसम्मका २ हजार ५६ वटा ईभी आयात भएकोमा चालु आवको सोही अवधिमा १ हजार ७२५ वटामात्र आयात भएको छ । यो अवधिमा यो क्षमतामा ३३१ वटा ईभी कम आयात भएको हो ।
समीक्षा अवधिमा ५१ देखि १०० किलोवाटसम्मका ईभीको आयात २२१ वटाले बढेको छ । गत वर्षको पहिलो ६ महिनामा २ हाजर ९७० वटा ईभी आयात भएकोमा चालु आवको सोही अवधिमा ३ हजार १९१ वटा आयात भएको छ ।
त्यस्तै १०१ देखि २०० किलोवाट क्षमताका ईभीको आयात पनि उच्च दरमा बढेको छ । गत वर्षको साउनदेखि पुससम्ममा यो क्षमताको ईभी जम्मा ६८ वटा आयात भएकोमा चालु आवको सोही अवधिमा ५५३ वटा आयात भएका छन् । यो अवधिमा २०१ देखि ३०० किलोवाट क्षमताको ईभी आयात भने १३ बाट ९ मा झरेको छ ।
चालु आवको पहिलो ६ महिनामा ५ हजार ४८० वटा ईभी आयात भएको छ । समीक्षा अवधिमा गत वर्षभन्दा ३७३ ईभी बढी आयात भएको छ । गत वर्षको पहिलो ६ महिनाम ५ हजार १०७ वटा ईभी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
उपभोक्ताले ५१ देखि १०० किलोवाट क्षमताका ईभी बढी रोजेको पाइएको छ । गत वर्षको पहिलो ६ महिनामा भन्दा चालु आवको सोही अवधिमा ५० किलोवाटसम्मका ईभीको आयात घटेको छ भने ५१ देखि १०० किलोवाटसम्मको बढेको छ ।