• Menu

सुदूरपश्चिम प्रदेश : कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

नेपाल प्रफिट

२०८१ माघ ११, शुक्रबार १२:३०

सुदूरपश्चिम प्रदेश : कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसलाले ढाकेको भू-क्षेत्र ७.७१ प्रतिशतले ह्रास भएको छ । यस्तै, त्यस्ता बालीको उत्पादन २.८५ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र जौँको उत्पादन क्रमशः ६५.७१ प्रतिशत र २५.०३ प्रतिशतले वृद्धि भएको छ भने तेलहनको उत्पादनमा सबभन्दा बढी १८.५३ प्रतिशतले ह्रास आएको छ ।

पशुजन्य उत्पादनअन्तर्गत दूध ४.५८ प्रतिशत, मासु नौ दशमलव ३२ प्रतिशत र अण्डा ६.४ प्रतिशतले बढेको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १०.८१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ ।

गत असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा १.३१ प्रतिशतले ह्रास भई १६ अर्ब ५२ करोड ८५ लाख पुगेको छ ।

अध्ययन नमूनामा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४८.९६ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये चामल र गहुँको उत्पादन वृद्धि भएको छ भने तोरीको तेल, साबुन, इँटा, चिनी र रोजिनको उत्पादनमा ह्रास आएको छ ।

समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १६.७५ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ भने उक्त क्षेत्रमा प्रवाह भएको कर्जा २०८० असार मसान्तको तुलनामा ४.७९ प्रतिशतले ह्रास भई २५ अर्ब ६० करोड १८ लाख पुगेको छ ।

यस्तै, पर्यटकस्तरीय होटल तथा लजको संख्यामा ४.१७ प्रतिशतले कमी आएको छ भने होटल शय्याको संख्या १.४७ प्रतिशतले घटेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन संख्या ८.२३ प्रतिशतले घटेको छभने रजिष्ट्रेशन राजस्व ३१.० चार प्रतिशतले वृद्धि भएको छ ।

गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढेको छभने कर्जा प्रवाह ०.७५ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा यातायात साधन संख्या ४.१२ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको ७२.४४ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ६६.५५ प्रतिशत खर्च भएको छभने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६२ दशमलव शून्य छ प्रतिशत खर्च भएको छ ।

अध्ययनअनुसार, २०८० फागुनसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरूबाट कुल एक सय ७१ मेगावाट विद्युत उत्पादन भएको छ ।

आव २०८०/८१ मा यस प्रदेशबाट जम्मा २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । आव २०८०/८१ को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीमा खटिएका व्यक्तिको औषत रोजगारी दिन ६५.७७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्