पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिनेछ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुनेछन् ।
आयोजना प्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।
सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेपछि २०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणको ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ ।
तेस्रो र पहिलो बाइपासको ‘ब्रेक थ्रु’ भदौ र असोजमा भएको थियो । दोस्रो बाइपासको ब्रेक थ्रु पुस ७ गते भएको हो । पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ ।
पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार लागतमा सुरु गरेको हो । निर्माण कार्य २०८३ सालमा सम्पन्न हुनेछ । २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो ।
सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।
स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ-चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडक क्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो ।
विशाल चट्टानले युक्त भीरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको थियो । २०७६ मंसिर २ गते सुरुङमार्गका लागि १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । छिचोलिएको सुरुङभित्र पसेर सेकेन्डरी सपोर्टको काम भइरहेको छ ।
सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’
सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ । सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट (जाली) र स्लोप प्रोटेक्सन गरिनेछ ।
सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भीरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिनेछ । अस्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ । सोही अनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनको काम हुने इन्जिनियर श्रीजेस पौडेलले जानकारी दिए । उनका अनुसार दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिनेछ । पौडेल यसअघि नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणमा संलग्न थिए ।
बुटवल-गोरुसिंगे सडक स्तरोन्नति हुँदै
प्रधानमन्त्री ओलीले आजै पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिंगे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ ।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी असार १३ गते ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिनेछ ।
कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको निर्माण कम्पनीले ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलग-अलग ठेक्का भएकाले काम पनि दुई तर्फबाट एकैपटक हुनेछ । ५० किलोमिटर सडकअन्तर्गत सालझण्डी-पिपरा र वनगाई-गोरुसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
पूर्व-पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्नेछ । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।