काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षित रुपमा बढ्न नसक्नु चिन्ताको विषय भएको बताएका छन् । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले बैंकहरुमा निक्षेप संकलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नुले गम्भीर बनाएको बताएका हुन् ।
‘पछिल्ला दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ,’ अर्थमन्त्री पौडेलले भने ।
कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्न उनले निर्देशन दिए । ‘बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ तर हामी यसैमा रमाएर बस्ने होइन, अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ,’ उनले भने ।
व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव रहेको अर्थमन्त्रीले बताए । ‘यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ,’ उनले भने । कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो, त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनले प्रस्ट पारे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरुमा सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताए । यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उनले स्वीकार गरे ।
‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ,’ गभर्नर अधिकारीले भने ।
गत वर्षको तुलनामा भन्दा सरकारी राजस्व एवं आयात-निर्यात बढ्न थालेको उनले बताए । ‘पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ, यसकारण हामी निरुत्साहित हुनु हुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन्,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण खराब कर्जा बढेको अधिकारीले बताए । ‘अर्थतन्त्र लामो समय शिथिल भएको र केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ,’ गभर्नरले भने, ‘यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ ।’
कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेको उनले बताए । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको पनि उनले स्पष्ट पारे । ‘बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान छ,’ उनले भने, ‘वित्तीय समावेशिता प्रवर्धन, ग्रिन फाइनान्स, प्रविधि प्रयोगलगायतमा बैंकले राम्रो गरिरहेको छ ।’
सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई बैंकले उच्च प्राथमिकता दिएको बताए ।
‘आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान पुर्याएका छौँ,’ उनले भने ।
नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ २०२४ माघ ७ गते पाँच करोड अधिकृत पुँजीसहित कृषि विकास बैंकको स्थापना भएको हो । बैंकले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण, औद्योगीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि सरल र सुलभ कर्जा प्रदान गर्दै आएको छ ।
अहिले बैंकमा ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा छ । बैंकले हालसम्म एक लाख ५१ हजार कर्जा ग्राहकमा करिब दुई खर्ब ६ अर्ब कर्जा परिचालन गरेको छ । करिब २० लाख ३४ हजार निक्षेपकर्ताले दुई खर्ब ५९ अर्ब निक्षेप राखेका छन् ।
बैंकको अधिकृत पुँजी २५ अर्ब र जारी पुँजी १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार तीन सय छ । संस्थापक सेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले हुन आउने सात अर्ब ६ करोड ६१ लाख ६४ हजार तीन सय ९३ र सर्वसाधारण समूह सेयरधनीको ४९ प्रतिशतले ६ अर्ब ७८ करोड ९० लाख ५९ हजार नौ सय सात रुपैयाँ कायम छ ।
यसैगरी बैंकको पुँजीकोषको अवस्था सुदृढ र मजबुत देखिएको छ । गत वर्ष १३.७५ प्रतिशत रहेको पुँजीकोष अनुपात मंसिरसम्ममा १३.१४ प्रतिशत छ । हाल बैंकमा सेयरधनी संख्या करिब तीन लाख छ ।
आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायत काम गर्दै जाने योजना रहेको बैंकका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।