काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक विवरणअनुसार ११ बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ ।
प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकको नाफा घटेको हो ।
सबैभन्दा धेरै नाफा एनआईसी एसियाको घटेको छ । यो बैंकको नाफा ९२.०३ प्रतिशतले घटेर १ अर्ब ९० करोड ३८ लाखबाट १५ करोड १७ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै कुमारी बैंकको नाफामा ६८.२ प्रतिशतको गिरावट आएको छ । गत वर्षको साउनदेखि पुससम्ममा ८६ करोड ७२ लाख रुपैयाँ कमाएको कुमारीले चालु आवको सोही अवधिमा २७ करोड ५७ लाखमात्र खुद नाफा गरेको हो ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२.१४ प्रतिशत घटेर २ अर्ब १ करोड ५३ लाखबाट ७६ करोड ३० लाखमा झरेको छ भने सिद्धार्थ बैंकको नाफा ५३.३६ प्रतिशतले घटेर १ अर्ब १३ करोड ६८ लाखबाट ५३ करोड २ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा तीनवटै सरकारी बैंकको नाफा घटेको छ । कृषि विकास बैंकको नाफा २९.३५ प्रतिशत र नेपाल बैंकको नाफा २१.८७ प्रतिशतले घटेको हो ।
६ महिनाको अवधिमा बैंकहरुको खुद नाफामा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १ अर्ब ३३ करोड रुपैयाँबराबरको गिरावट आएको छ ।
वाणिज्य बैंकहरुले साउनदेखि पुससम्मको अवधिमा २७ अर्ब ४३ करोड खुद नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको ४.६२ प्रतिशत कम हो । गत वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड रुपैयाँ कमाएका थिए ।