• Menu

हालै जारी अध्यादेशको भावनाअनुसार नियमावली र कार्यविधि ल्याउन आग्रह

नेपाल प्रफिट

२०८१ माघ ६, २०:३१

हालै जारी अध्यादेशको भावनाअनुसार नियमावली र कार्यविधि ल्याउन आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशहरुको भावनाअनुसार नियमावली र कार्यविधि ल्याउन आग्रह गरेका छन् । सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उनले अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

‘उद्योग वाणिज्य महासंघले लामो समयदेखि नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्दै आएको थियो । महासंघको आग्रहअनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं तर यो पर्याप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ,’ उनले भने ।

अध्यक्ष ढकालले अध्यादेशको भावनाअनुसार छिटोभन्दा छिटो नियमावली वा कार्यविधि ल्याउन आग्रह गरे । र, तर, वा का कारण यसको कार्यान्वयनमा जटिलता आउन नहुनेमा उनको जोड छ ।

प्लास्ट नेपाल फाउन्डेसनको दसौँ वार्षिक साधारण सभामा उनले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राखे । यस्तै, उनले प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगमा समेत जोड दिए ।

प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री र रिसाइक्लिङ प्रक्रिया गरी हजारौं व्यक्तिलाई रोजगारीको अवसर प्रदान गरेको उल्लेख गर्दै उनले प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘प्लास्टिकजन्य वस्तुको प्रयोग कम गर्नुपर्ने कुरा छन् । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ तर यसमा प्रयोग हुने कच्चा पदार्थका लागि विदेशी मुद्रा खर्चिनुपर्ने अवस्था छ । पुनः प्रयोग गर्न  सके यसको लागि बिदेसिने मुद्रा जोगाउन सकिन्छ,’ ढकालले भने ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि सकारात्मक रहेको बताए । सरकारले हालै जारी अध्यादेशको भावनाअनुसार नै नियमावली र कार्यविधि छिटोभन्दा छिटो ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्