काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्मको प्रमुख आर्थिक सूचक सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले चालु आवको पहिलो ६ महिना (साउन-पुस) को विवरण आइतबार सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांकअनुसार ६ महिनामा सरकारको खर्च १७.८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो ।
त्यस्तै चालु आवका लागि विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ, यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत हो ।
त्यसैगरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा ४३.२ प्रतिशत हो ।
चालु आव पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, सशर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपुरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी १ खर्ब ८५ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।
त्यस्तै राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । यो ३२.५ प्रतिशत हस्तान्तरण हो । वार्षिक विनियोजन १ खर्ब ५९ अर्ब बराबर छ ।
सार्वजनिक तथ्यांकअनुसार ६ महिनामा निर्यात ३१.८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो । ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
त्यस्तै समीक्षा अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोडबराबरको वस्तु आयात भएको छ । आयात ७.१ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । गत आवको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो । गत वर्ष निर्यात यो अवधिमा ३.१ प्रतिशतले घटेको थियो ।
अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा भने ८.२ प्रतिशतमात्र बढेको थियो । बैंक वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ । निक्षेप संकलनमा ३.३ प्रतिशतको सुधार आएको हो । त्यस्तै कर्जा प्रवाह ४.४१ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।