• Menu

वाणिज्य बैंकहरुबाट पुसमा ५० अर्ब ७८ करोड निक्षेप संकलन, ९३ अर्ब ६९ करोड कर्जा प्रवाह

नेपाल प्रफिट

२०८१ माघ ४, शुक्रबार ११:१६

वाणिज्य बैंकहरुबाट पुसमा ५० अर्ब ७८ करोड निक्षेप संकलन, ९३ अर्ब ६९ करोड कर्जा प्रवाह

काठमाडौं । वाणिज्य बैंकहरुले पुसमा ५० अर्ब ७८ करोड निक्षेप संकलन गरेका छन् भने ९३ अर्ब ६९ करोड कर्जा प्रवाह गरेका छन् । लामो समयपछि एकै महिनामा झन्डै खर्ब रुपैयाँहाराहारी कर्जा प्रवाह भएको हो ।

बैंकहरुले मंसिरसम्ममा ५९ खर्ब ३६ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुसमा बढेर ५९ खर्ब ८७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । कृषि विकास बैंक, हिमालयन बैंक, नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन घटेको छ भने बाँकी १५ बैंकको बढेको छ ।

पुसमा सबैभन्दा धेरै एनएमबी बैंकले ८ अर्ब ९३ करोड, एनआईसी एसिया बैंकले ८ अर्ब ३७ करोड, कुमारी बैंकले ७ अर्ब ६१ करोड र नेपाल बैंकले ७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप बढाएको छ । वाणिज्य बैंकहरुले मंसिरसम्ममा ४७ खर्ब २१ अर्ब ९३ करोड कर्जा प्रवाह गरेकोमा पुससम्ममा बढेर ४८ खर्ब १५ अर्ब ६२ करोड पुगेको छ ।

वाणिज्य बैंकहरुको कर्जा प्रवाह पुसमा उच्च दरमा बढेको छ । साउनमा २ अर्ब, भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब र मंसिरमा ४२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले पुसमा ९३ अर्ब ६९ करोड लगानी गरेका हुन् । कात्तिकमा भने कर्जा वृद्धिदर ऋणात्मक थियो ।

पुसमा सबैभन्दा धेरै एभरेस्ट बैंकले १२ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६६ करोड, नविल बैंकले ९ अर्ब ५३ करोड र लक्ष्मी सनराइज बैंकले ७ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । कृषि विकास बैंकको कर्जा प्रवाह भने घटेको छ ।

अहिले बैंकिङ प्रणालीमा ७ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । कर्जाको माग नभएका बेला ७–८ प्रतिशत हाराहारीमा बैंकहरुले प्रवाह गरिरहेका छन् । उद्योगी व्यवसायीले कर्जाको माग नबढाए पनि गाडी, घरलगायतका लागि उपभोक्ताले कर्जा लिन थालेका छन् ।

अहिले हाइड्रोमा पनि कर्जाको माग भइरहेको छ । सरकारले पीपीएका लागि अनुमति दिएका जलविद्युत आयोजनाले कर्जाको माग गरेका छन् । त्यस्तै पुसमा पाम आयलका लागि एलसी खोल्ने क्रम बढेकाले पनि कर्जा प्रवाहमा उच्च वृद्धि देखिएको हो ।

यसबाहेक उद्योगी व्यवसायीले पुसमा राजस्व तिर्न र ब्याज भुक्तानीका लागि माथिल्लो सीमासम्मको कर्जा प्रयोग गर्ने भएकाले पनि कर्जा प्रवाह बढेको देखिएको छ ।

बैंकहरुले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेको कर्जा दिन सक्ने व्यवस्था छ । तर, अहिले ०.५ देखि अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिइरहेका छन् ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी कर्जाको माग निकै सुस्त रहेको बताए । ‘ब्याजदर धेरै नै तल आइसकेको छ तर कर्जाको माग छैन,’ उनले भने, ‘पाम आयल, भटमासको तेललगातका कारण एलसी खुल्ने क्रम बढेको तर त्यो अल्पकालीन मात्र हो, उत्पादनमूलक उद्योग जस्ता क्षेत्रबाट माग नभएसम्म कर्जा बढ्ने देखिँदैन ।’

एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ पनि कर्जाको माग बढ्न नसकेको बताउँछन् । ‘बैंकहरु तीन-चार खर्ब कर्जा सहजै दिन सक्ने अवस्थामा छन्,’ उनले भने, ‘कर्जाको ब्याजदर पनि निकै घटेको छ, ठूलो कर्जा ७ प्रतिशतभन्दा कममा पनि बैंकहरुले डिस्पर्स गर्ने गरेका छन् तर माग निकै सुस्त छ ।’

राष्ट्रिय वाणिज्य बैंकमा घरकर्जाबारे बुझ्न गएका ललितपुरको झरुवाराशिका सन्दीप साहले प्रिमियम १.२५ प्रतिशतमात्र थप गरेर कर्जा लैजान प्रस्ताव आएको बताए । ‘अहिले त कर्जा फालाफाल नै रहेछ नि !’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्