काठमाडौं । काठमाडौंको सुकेधारामा ३ अर्बभन्दा बढी लगानीमा होटल स्थापना भएको छ । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले निर्माण गरेको पाँचतारे होटल ‘मर्क्योर’को आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक शुभारम्भ गरेका हुन् ।
होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको एकोर ग्रुपको चेन होटल ब्रान्डको नेपालमा पहिलो पटक होटल सञ्चालनमा आएको हो । सन् १९६७ मा स्थापना भएको फ्रान्सको एकोर ग्रुपले एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका ११० देशमा ५७ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको छ ।
सुकेधारा चोकमा ११ तलामा ठडिएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ । पाँच रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १०४ कोठा छन् ।
होटलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालकै लागि र काठमाडौंका लागि नयाँ होटल आएको बताए । ‘यसले युरोप र हाम्रो सम्बन्ध त्यसमा पनि फ्रान्स र हाम्रो सम्बन्धलाई थप राम्रो बनाएको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन यस होटलले योगदान दिने विश्वास व्यक्त गरे । यस क्षेत्रको विकास र प्रवर्धनका लागि सरकारका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता उनले जनाए । उनले नेपालको हिमाल आरोहणमा ८ हजारभन्दा माथिको हिमाल सन् १९५० मा फ्रेन्च आरोही मरिस हर्जोजले चढेको ओलीले स्मरण गरे ।
होटलका सञ्चालक बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् । उनी महासंघको हवाई तथा यातायात समितिका अध्यक्ष पनि हुन् । उनी जाम्बियाका मानार्थ कन्सुलर पनि हुन् ।