धनुषा । यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आज बिहानैदेखि एक महिने मकर मेला सुरु भएको छ । मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ ।
मेलामा देशका विभिन्न भागका साथै भारतबाट पनि धेरै श्रद्धालु आउने गरेका छन् । सीता स्वयम्वरका बेला श्रीराम धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल र बीचको भाग धनुषाधाममा झरेको किंवदन्ती छ ।
धनुषको टुक्रा खसेको जनकपुरधामको पोखरी धनुष सागरका नामले चिनिन्छ । यो स्थानमा धनुष बाबाको मन्दिर पनि छ जहाँ हरेक वर्ष माघमा मेला लाग्ने गरेको छ ।
भक्तजनले धनुषको टुक्रामा पुष्प एवं जल अर्पण गर्ने चलन छ । पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि सय रामेश्वरमको दर्शन गरेको पुन्य प्राप्त हुने जनविश्वास छ ।